विदेशमा बगाएको पसिनाले देखेको सपना : निषेधाज्ञाले बेचैन छन् आर्यन

आर्यन शाही (३२) बेचैन छन् । निषेधाज्ञाको कारण घरमै बस्न बाध्य भएका आर्यन  स्थिती सामान्य भएको भए यतिबेला आफ्नो व्यवसाय भ्याईनभ्याईको स्थितीमा हुन्थे । तर निषेधाज्ञाको कारण उनलाई अनावश्यक फुर्सद मात्रै मिलेको छैन । विदेशबाट दुखले कमाई गरेर ल्याएको रकममा थपथाप र ऋण खाजेर शुरु गरेको व्यवसाय सम्झेर पसिना छुट्न थालेको छ ।

‘आफैँ व्यवसाय गर्छु भनेर काठमाडौंको सिनामङ्गलमा रेस्टुरेन्ट खोलेको थिएँ । तर रेस्टुरेन्ट खोलेको ३ महिना नबित्दै कोभिड १९ को दोस्रो भेरियन्टले छपक्कै छोप्यो र फेरी निषेधाज्ञा लागू भयो। म त बौलाउन लागिसकेको छु । त्यतिका पैसाको ब्याज बढ्दैछ । कमाई सुको छैन । हातमुख जोर्नपनि समस्या हुने अवस्था आउन थालिसक्यो ।’

नाम  :आर्यन शाही
उमेर : ३२ वर्ष
बसोबास : शान्तिनगर, तिनकुने

विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस महामारीबाट सबै क्षेत्र प्रभावित छन् । यस मध्येको एक व्यवसाय होटल तथा रेस्टुरेन्ट पनि हो । करीब ३ महिना अगाडी आर्यनले नेपालमा नै केही गर्नु पर्छ भन्ने सोच लिएर सिनामङ्गलमा ढिडो हाउस नामको रेस्टुरेन्ट खोलेका थिए । १६ लाखको लगानिमा रेष्टुरेन्ट खोलेका आर्यनले आफूसँग भएको पैसासहित परिवारबाट सरसापट र थपथाप गरेर बाँकी ऋण लिएका हुन् ।

No description available.

२ वर्ष विदेशमा पसिना काडेर कमाई गरेर फर्केका आर्यनले यो अवस्थामा केहि सोच्न सकेका छैनन् । के गर्ने ? कसो गर्ने ? कसरी अघि बढ्ने ? उनको मनमा बारम्बार खेलिरहने प्रश्न हो यो । होटल म्यानेजमेन्ट अध्ययन गरेर वैदेशिक रोजगारका लागी कुवेत गएका उनले विदेशमा पनि होटलमा नै काम गर्ने मौका पाए । २ वर्षको बसाईपछि आफूले जानेको कुरा आफ्नै देशमा किन सदुपयोग नगर्ने भन्ने हेतुले उनी स्वदेश फर्के । विदेशमा गर्ने मेहनत र पसिना आफ्नै देशमा किन नलगाउने भनेर नेपाल फर्कीएका उनले बनाएको योजना बमोजिम नै रेस्टुरेन्ट त खोले तर हात लाग्यो शुन्य ।

‘व्यवस्थापनको काम भर्खरै सकिएको थियो । रेस्टुरेन्ट नै बन्द गर्नुपर्यो ।’ उनी खुईई गर्छन् ।

‘यत्रो धेरै ऋण लिएर व्यवसाय शुरु त गरेँ अब कहिलेबाट सञ्चालन हुने हो अत्तोपत्तो छैन । उनी विकल्पविहिन छन् । आफ्नो सबै लगानीमा भएको भए यति चिन्ता नहुने थियो होला । मैले त धेरै जस्तो ऋण लिएर शुरु गरेको हो । उता ऋणको ब्याज बढेको बढ्यैछ यता व्यवसाय ठप्प ।’ यति भनिसक्दा उनका आँखा रसाए ।

आर्यनको रेस्टुरेन्टमा ४ जना स्टाफ छन् । निषेधाज्ञाको कारण घर जान नपाए पछि स्टाफको जिम्मा पनि उनले आफैँ लिइरहेका छन्। ‘रेस्टुरेन्टको भाडा २५ हजार छ । बन्द भएपनि भाडा तिर्नैपर्छ । जताततै पैसा जाने ठाँउ मात्र छ । आउने बाटो कहीँ छैन ।’ उनी मलिन सुनिन्छन् ।

No description available.

करीव ४ वर्ष अगाडी पनि उनले रेस्टुरेन्ट खोलेका रहेछन् । त्यो समयमा करिब ६ महिना नाकाबन्दी भएर व्यवसाय नै छोड्नु परेपछि उनी विदेशिएका थिए । ‘कोरोनाले एक वर्ष अप्ठेरो पारेपछि केहि साम्य भएको अवस्थामा अहिले आएर शुरु गरेको व्यवसाय पनि शुरुमै यस्तो अवस्थामा गुज्रिनपरेको छ । अब त उठ्नै नसक्ने गरी लडेको जस्तो लाग्छ।’ उनले सुनाए ।

‘मनैबाट केही गर्छु भनेर सोचेको थिएँ । आफूले सकेको जति गर्दै पनि थिए । अचानक यस्तो भए पछि जोस जाँगर सबै हराएर जाने रहेछ । आज भोलि त एकदमै डिप्रेशन भएजस्तो, एन्जाईटी भएजस्तो महशुस हुन थालेको छ । केही सोच्न गर्न पनि मन लाग्दैन।’

आर्यनको घरमा बुबाआमा अनी आर्यन मात्र छन् । ‘घरको सबै जिम्मेवारी आफैँमाथि छ । बुढाबुढी बाबुआमा त्यो पनि दुवै जना सुगर, प्रेसरको रोगी औषधि टुटाउनै हुँदैन । गर्न खोजेको काम पनि यस्तो हुन्छ ।’ उनी बेला बेला भाग्यलाई पनि दोष थोपर्छन् ।

तर आर्यनले बुझेका छन् । यो उनी एक्लैले व्यहोरिरहेको समस्या होइन । ‘अहिलेको अवस्थामा विश्व नै योे समस्या झेल्दै आइरहेको छ । हरेकलाई असर परिरहेको छ यस्तै सम्झेर चित बुझाउने गरेको छु ।’ उनले बताए । ‘सडकभरी भौतारिएर हिँडेका मान्छेहरु देख्दा झन् अत्यास लागेर आउँछ । कम्तिमा मेरो त घर छ । बिहान बेलुका २ छाक खान त पाएको छु भन्ने लाग्छ । बिहान साँझ छाक टार्नेको दिन कसरी बितिरहेको होला ? खान नपाएर कति जना सडकमा फालेको फोहोरको डङ्गुरमा केही खोजिरहेको जस्तो देखिन्छन् कति मानिस आधा च्यातिएको लुगा लगाएर बालखा नानी च्यापेर केही पाइन्छ की वा कसैले केहि दिन्छ कि भनेर खानको लागि भौतारिरहेका हुन्छन् । तिनीहरुलाई न्याय कस्ले दिने ? देशका जिम्मेवार पदमा भएका भनौदाहरु कुर्सीको खेलमा तानातान गर्दै ठिक्क छ । यता सर्वसाधारण भोकभोकै मरीरहेका छन् । हामी जस्तो लाखौँ व्यवसाय धरापमा परीरहँदा केही मात्रामा भए पनि राहत हुने खालको काम सरकारले गरीदिएको भए हाम्रो मनोबल बढ्ने थियो ।’ उनी भावुक सुनिए ।

No description available.

आर्यनले नेपालमा बढ्दो बेरोजगारीको समस्यातर्फ ईंगित गरेर भने- ‘डिग्री सकेर बेरोजगार बसेकाहरु समेत देखेको छु । पीर लाग्छ । विदेश गएर दुख गरेर केही गर्छु भनेर आाटेको हुँ । आँट्न त आँटे जब शुरु हुन आँटेको थियो सबै बन्द भयो ।’

हाल नेपालमा कोरोनाको दोस्रो लहरको चक्र केहि कम भएतापनि साम्य हुने स्थिती तत्काललाई छैन । ‘निषेधाज्ञा खुलिहालेको खण्डमा पनि रेस्टुरेन्टमा बसेर खाना खाने माहोल हत्तपत्त बन्दैन । डर सबैलाई छ । हुनु पनि पर्छ । तर हामीजस्तो नयाँ व्यवसायीलाई नराम्रोसँग रुवायो ।’ संसारभरका मानिसले कोरोनाविरुद्धको भ्याक्सीन नपाएसम्म यो साम्य नहुने उनको मत छ ।

लेखकबाट थप : 

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !

ईज्जत जाने डरमा बाहिरिँदैनन् महिला हिंसाका घटना, ज्यान गुमाउनेको संख्या बढ्दै

निरमायाहरुको प्रश्न : ‘हाम्लाई के नै सुख छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?