कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ?

चन्द्रकला कार्की/काठमाडौं – भुसको आगोसरी फैलिएको कोरोना भाइरसको भयावह अवस्थाको ‘चेन ब्रेक’ गर्न भन्दै सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर ) मा बैशाख १६ गते बुधवारबाट निषेधाज्ञा लागू गर्‍यो।

जारी निषेधाज्ञा अनि यसको समयावधि लम्बिने अन्यौलता। यिनै कारण काठमाडौं, भक्तपुर, ललितपुरमा बसी रोजगारी र पठनपाठन गर्नेहरु कुम्लो कुटुरो बोकेर आफ्नो थातथलो फर्किए । कोरोनाको उच्च जोखिमकाबीच सवारी साधनमा खचाखच भरिएर आ-आफ्ना थातथलो फर्किनेको भिड निकै थियो ।

पंक्तिकार बुधवार कोटेश्वर चोकमा पुग्दा एकजना अधबैँसे पुरुष सडकछेउ अलमल्ल मुद्रामा घोरिएको देखेँ ।

मनमा अनेकन अन्यौलता परेका कारण उनको अनुहारमा प्रष्टै देखिएको निराशाका रेखा उनले लगाएको मास्कले छोप्न सकेको थिएन ।

केटाकेटी छेउमा उभिएका । उनको आसपासमा केहि मानिसहरु बस कुरिरहेका थिए । उनीसँगै उभिएकी थिइन् एकजना अधबैँसे महिला पनि ।

ती पुरुष बेला बेला नाडीमा नजर पुर्‍याउँथे । खुईययय… गर्थे । फोन थिच्थे । कहिलेकाहिँ मधुरो आवाजमा बोल्थे पनि।  उनले के भने, मैले मेसो पाईन किनकी भौतिक दुरी कायम गर्नुपर्ने मापदण्ड पालना गर्नै प-यो ।

***

केहिबेरपछि मास्कलाई चिउँडोमा तान्दै उनी मोबाईलमा बोले, ‘घर आउन पाइएन भने त कसरी बाँच्नु यो पापी शहरमा ?’

उनले दुखेसो पोखे, ‘भोलिदेखि त मेरो आउने बाटो नै बन्द हुँदैछ ।’

उनी कृष्ण बहादुर बस्नेत (४५) । स्थायी ठेगाना : सोलुखुम्बुको छेस्काम । निषेधाज्ञाका कारण काठमाडौं छोडेर परिवारसहित गाउँ जान लागेका ।

दैनिक ज्याला गरेर साँझविहानको जोहो गर्थे उनी । ‘कोरोनाको यो कहर कहिले सकिने हो, टुंगो छैन । मेरा छोराछोरीलाई के खुवाएर राख्ने यहाँ ? हामी त भोक प्यास सहुँला, बच्चालाई रोईदिए भयो !’  परिस्थितीले एक बुबालाई यतिसम्म निरिह बनायो । म सोचमग्न भएँ ।

उनी थप्दै थिए, ‘रोगले हैन भोकले चाँडो मरिन्छ नानी ! ‘

***

दुई वर्ष अगाडि दुई छोराछोरी पढाउन काठमाडौं आएर ज्यामी काम गर्दै परिवार पालेका कृष्ण बहादुर काठमाडौंमा पाएको हण्डरठक्करले थलिएका छन् । तर उनी छोराछोरीको लागि भोक, प्यास, निन्द्रा नभनी घोटिएका छन्।

‘दिनको सात सय कमाउँथेँ । छोराछोरीलाई बोर्डिङ स्कुल पढाउँदै थिएँ । महिनाको शुल्क मात्रै दश हजार थियो – दुई छोराछोरीको । अनि घर भाडा ६ हजार।’ उनले दुखेसो पोखे।

उनकी श्रीमती पनि कोठा नजिकैको घरमा काम गर्थिन् । त्यसवापत उनले महिनाको पाँच हजार बुझथिन्  तर कोरोना बढ्दै गएपछि उनलाई पनि काममा नआउन भनियो।

कृष्णबहादुरको तीन दिन अगाडि नै काम रोकियो । त्यसकारण कुम्लोकुटुरो बोक्नुबाहेक उनीसँग अरू कुनै विकल्प रहेन ।

काठमाडौं छोडेर गाउँ फर्कने निधो गरेका उनी एक्ला पात्र होईनन् । कोरोना कहरपछि सरकारले गरेको बाध्यात्मक निषेधाज्ञाका कारण हजारौँ मानिसको यस्तै कहालीलाग्दो कथा-व्यथा छ ।

‘हामी त यो पापी शहरमा बस्नै नसकिने रहेछ । दिन रात दु:ख गरेर दुई छाकको जोहो गर्नेका लागि यो शहर होईन रहेछ ।’ उनले लगभग निश्चित गरिसकेका छन्।

दुई बच्चाको लागि उनले केहि रकम जम्मा गरेका थिए । अघिल्लो वर्ष लकडाउनमा सबै सकियो । बल्ल काममा जान लाग्दा फेरि निषेधाज्ञा भयो।

‘अब यो कोरोनाको कहर साधारण भयो भने बरु फेरि आएर संघर्ष गरौँला । अनि पढाउला छोराछोरी । अहिले बाँच्नु नै ठूलो कुरा हो।’ उनको बुझाइ हो यो ।

‘यस्तै वेला झन् सहयोग गर्नुपर्ने । उल्टो लुट्न खोज्ने मात्र हुन्छन् । गाडी भाडा पनि अरुवेला भन्दा बढी तिर्नु परेको छ ।’ कृष्ण बहादुर घरीघरी भावुक सुनिन्छन् ।

“शहरीया मानिसमा दया र धर्म सकिसकेको रहेछ ।'” उनले आफ्नो निष्कर्ष सुनाए ।

गाउँ फर्किने सवारी नपाएकोमा उनी चिन्तित छन् । कुराकानीको क्रममा बाटोमा खचाखच यात्रु बोकेर गुडेका बस रोक्न संकेत पनि गर्छन् तर रोके पो !

‘बल्ल तल्ल एउटा गाडी पाएको। आज बिहानको त्यो पनि अरु कसैले बढी पैसा दिएर अन्तै गएछ । फेरि धेरै कोसिस गरेर अर्को बेलुकाको गाडी पाएको उभिएर जानुपर्ने भएको छ । बिन्ति बिसाएर बालबच्चालाई बल्ल एउटा सिट पाईएको छ ।’

कृष्ण बहादुरले शिरको टोपी निकाले र पसिना पुछे। तर त्यो टोपीले उनको मुहारको पीडा भने पुछ्न सकेन। तिनै पीडाले उनको अनुहारमा फेरि पसिना बग्ने निश्चित छ।

परबाट हुत्तिँदै आएको बसका सहचालक चिच्याए – ‘सोलुखुम्बु’ ! ‘सोलुखुम्बु’ ।

उनी हत्तपत्त गुढ्दागुढ्दैको बसको डण्डी समातेर उक्लिए। श्रीमती र छोराछोरीलाई च्याप्दै झुण्डिए। श्रीमतीलाई भित्र धकेले । अनि झोलालाई भित्र फ्याँके । उनका लागि यो मौका हो। किनकी लगभग चार घन्टाको पर्खाइपछि उनले गाडी पाएका छन् ।

यही मौकामा चौका नहाने काठमाडौंमा छुटीने र भोकभोकै  मर्नुपर्ने हो कि भन्ने भय छ, उनको मनभरी।  गाडी पाउँदा पनि उनको मुहारमा युद्ध नै जिते जस्तो भाव झल्किन्थ्यो।

अभाव र पर्खाइले पनि मान्छेलाई खुशी दिन्छ भन्थे, हो रहेछ। कृष्णबहादुरको मुहार हेर्दा यही भनाइको याद आयो।

गाडी हुँइकिनै लाग्दा उनले मलाई हेर्दै मास्क चिउँडोतिर तानेर खिस्स हाँस्न खोजे तर सकेनन् । मैले शुभयात्राको कामना गरेँ, उनी जस्तै पीडितहरूले भरिएको बस आफ्नै सूरले हुँइकियो । देखुन्जेल मैले उतै नजर पुर्‍याएँ ।

हतारोमा उनको परिवार दौडिएका कारण फोन नम्बर लिन भुलेछु । राखेको भए, आज फोन गरेर सोध्न मन थियो – ‘कृष्णबहादुर दाई सोलुखुम्बु पुग्नुभयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?