निरमायाहरुको प्रश्न : ‘हाम्लाई के नै सुख छ र ?’

भक्तपुरको लोकन्थलीबाट टिकाथली जाने बाटोमा निषेधाज्ञा लागू भएदेखि बडेमानका ताल्चा भिरेर बन्द छन् सटरहरु ।

छेवैमा पंक्तिकारको आँखा पुग्यो जहाँ अलिकति टाउको छिराउन मिल्ने जतिमात्र खोलिएको अवस्थामा छ, एउटा सटर । सडकहरू सुनसान छन् । फाट्टफुट्ट पैदल यात्रुहरु हिँडिरहेका छन्।

‘चोरी भयो कि कसो’ भन्ने शंका गरेँ मैले ।

सटर नजिकै पुग्दा भित्रबाट आवाज आयो – ‘के चाहिएको हो तपाईलाई ?’

मुनीबाट चिहाएर हेर्न मिल्ने सटरबाट आएको आवाजले मेरो शंका दूर भयो । तर मेरो केहि सेकेण्डको मौनतामा सटरभित्रबाट अनुरोधको शैलीमा दोस्रो प्रश्न आयो ।

‘के सामान चाहिएको हो नानी तुरुन्तै भनिहाल्नुहोस् त ।’

‘पुलिस आएपछि त कारवाही गर्छन् ।’ उनले महिनौँदेखिको निरिहता व्यक्त गरिन् ।

मैले आफू उनलाई भेट्न जानुको कारणबारे बताएपछि उनले चियो बुझ्न र प्रहरीलाई खबर गर्न आएको हो ? भन्ने भावमा आँखा तन्काईन् र घ्वार्रर्र.. आवाजमा सटर थोरै माथि सारिदिइन् ।

निषेधाज्ञाका कारण सरकारले समय तोकिदिएता पनि आफ्नो दैनिकी धान्न र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सटर खोलिएको तरकारी पसलमा चिहाउने मानिसहरुको चहलपहल बाक्लै छ ।

‘एक किलो आलु छ ?’ ‘साग छ ?’ ‘सिमी कति रुपैयाँ किलो हो ?’ ‘एक पाउ लसुन जोखिदिनुहोस्’ भन्ने आवाजहरु दोहोरिरहेका छन् ।

***

निरमाया राईको स्थायी ठेगाना ओखलढुङ्गा हो । हाल उनी भक्तपुरको लोकन्थलीमा बसोबास गर्दै आएकि छिन् । ४६ वर्षीया यी अधबैसेलाई चार बजे होलसेल पसल गएर सामान लिएर सटरमा व्यवस्थापन गरि घर धान्नुपर्ने चटारो हुन्छ सधैँ । तर कोरोनाको  नयाँ भेरियन्टसहितको जोखिम नियन्त्रण गर्न काठमाडौं उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा लागू गरिएसँगै उनको बेचैनी बढेको छ । न त ढुक्कसँग व्यापार गर्न सकियो न त आफ्नो ज्यानको सुरक्षा नै छ । राजधानीको मोडल पछ्याउँदै अन्य जिल्लाले पनि असार ७ गते मध्यरातसम्म निषेधाज्ञा कायमै राखेका छन् । यस्तोमा निरमायाजस्तै ज्याला मजदुरी र स-सानो सटरबाट व्यापार व्यवसाय गरी पेट पाल्नेहरुको सवाल निकै अप्ठेरो छ । होलसेल पसल बिहान सात बजे बन्द हुने रहेछ। उनले सुनाईन् ‘बिहान ६ बजे सटर खोल्छु । १० बजे बन्द गरेर कोठा जान्छु । दिनभरी कोठामा यतिकै बस्न पनि मन पोलेर आउँछ । पिर मात्र लाग्छ ।’ उनी फेरि साँझ ५ बजे सटर उचाल्न पुग्छिन्।

आफूले ओडेको पछ्यौरी तानेर पसिना पुछ्दै भन्छिन्, ‘यो सटर उचाल्न र झार्न सार्‍है गार्‍हो हुन्छ। फेरि सटर लगाएर यसरी बस्न पनि धेरै गर्मी हुन्छ । सटरभित्र गुम्सीएर मास्क लगाउँदा उकुसमुकुस भएर ज्यान नै जाला जस्तो हुन्छ । यो मास्क पनि लाउनैपर्छ । आफ्नो ज्यानको पनि माया छ काम नगरी पनि हुन्न।’

१० मिनेट सटरभित्र उकुसमुकुस भएको कारण उनको अप्ठेरो बुझ्न मलाई समय लागेन । ‘बिहान सटर खुला भए पनि सबै ग्राहक एकैचोटि नआउने र बेलुका पनि सटर खोल्नैपर्ने हुन्छ।’ उनले एकै श्वासमा भनिन् ।

हुनपनि सबैको भान्सामा फ्रिज हुँदैन । कुहिने गल्ने चिज भएका कारण सबैलाई यो सुविधा नहुँदा दिनहुँ तरकारी किन्ने वर्ग ठूलो छ ।

‘निषेधाज्ञाको कारण कोठामा तनाव लिएर बस्नुभन्दा दुई चार रुपैयाँ हुन्छ कि भन्ने आश हुन्छ । त्यसैले दिनहुँ आउँछु। मलाई पनि डर छ नानी पुलिस आयो भने खोल्न दिँदैनन् । उनले दुख बिसाईन् । अर्काको घरमा पैसा तिरेर बस्नेलाइ त साह्रै गाह्रो हुने यो शहरमा। त्यसमाथि पोहोर पनि यसपालि पनि । उनि भन्दै थिइन् सटर र कोठा गरेर १६ हजार त भाडा नै तिर्नु पर्छ । नानीहरु पढाउन पनि खर्च लाग्छ।’उनी दुखेसो पोख्छिन् ।

उनको श्रीमानलाई २ वर्षदेखि प्यारालाइसिस भएको रहेछ । उपचार गर्दै आएका उनले ठूली छोरीको कमाईबाट केहि राहत पाएका छन् । घरमा नुन तेलको जोहो गर्न यो सटरमा व्यापार गरिरहेकी छिन्, उनले ।

‘पहिले बुवाले दुख गरेर छोरी पढाएका थिए । अहिले उहाँको त्यस्तो हालत भयो । एक्कासी हात गोडा नै चल्न छाड्यो । परिवारको सर्वश्व गयो । गहभरी टिल्पीलिएका आँशु पुछिन् उनले । घरमै डाक्टरको सल्लाह अनुसार थेरापी गर्दै आएका छौँ।’ उनले अप्ठेरो सुनाईन् ।

‘एउटा मान्छेदेखि अर्को मान्छे डराउनु पर्ने । यो महामारी कहिले शान्त हुन्छ होला ? ‘ उनले जिज्ञाशा राख्दै नजिकको किरेटबाट तरकारी मिलाईन् । बेला – बेला सटर मुनितिर आँखा डुलाउँदै थिइन् उनी । कसैका खुट्टा उनको सटर अगाडी रोकिन्छन् र तरकारि किनिहाल्छन् कि भन्ने आशा छ उनलाई ।

चर्को गर्मीकाबीच साँघुरो सटरमा मास्क लगाएर कुराकानीपछि बाहिरिँदा मलाई नेतृत्वसँग साविककै प्रश्न गर्न मन लाग्यो ।

कतिन्जेलसम्म निरमायाहरुको हालत यसरी चल्छ होला ?

***

लेखकबाट थप : 

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !

ईज्जत जाने डरमा बाहिरिँदैनन् महिला हिंसाका घटना, ज्यान गुमाउनेको संख्या बढ्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?