महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार

लोकपथ
1.3k
Shares

चन्द्रकला कार्की/ काठमाडौं – रातको समय । आमाले ग्लासमा दिएको दुध पिउँदै ल्यापटपमा कार्टून हेर्दै थिइन् उनी । सोही तल्लाको अर्को कोठाबाट आवाज आउँछ, ‘ल आउ अब नु नु गरौँ ।’ आवाज साख्यै हजुरबुवाको हुन्छ ।

हजुरबुवाको मायालु भाषा अस्विकार गर्न सक्दिन उनी । गरुन् पनि किन ? सुत्ने बेला जो भएको छ । सिमसम परिरहेको पानीले वैशाखको संकेत गरेको छ । हावाहुरीसहित परेको चट्याङले बेलाबेला कान थुन्दै उनी आत्तिएको संकेत गरिरहेकी थिईन् ।

‘हजुरबुवासँग लुटुक्क निदाईन् उनी ।’ आमाले त्यहि ठान्छिन् । बुबा निर्धक्क छन् । रातमा हजुरबुवाले पिसाब गराउन बाहिर लैजाने भएर ओछ्यानमा पिसाब फेर्न छोडिसकिन् उनले । वातावरण ढुक्क छ । रात बित्छ ।

तर बिहानीले सहि संकेत गर्दैन । उनी त्यहि रात हजुरबुबाबाट बलात्कृत हुन्छिन् ।

***

यो काल्पनिक घटनाक्रम हो । तर बितेको एक वर्षमा प्रहरीको तथ्याकंले देखाएको संकेतले यो घटनाक्रम काल्पनिक कथा वा घटनाक्रममा मात्रै सिमित नरहेको देखाउँछ ।

स्मरण रहोस् : चालू आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिको स्थिति विश्लेषण गर्दा चिनजानको व्यक्तिबाट ३६ बालिका बलात्कार भएका छन् । प्रहरीको तथ्याकं अनुसार छिमेकीबाट १९, आफ्नै बुबा तथा हाडनाताबाट १७, प्रधानाध्यापक तथा शिक्षकबाट ६ जना सरकारी कर्मचारीबाट ३ जना , घरेलु बालश्रममा रहेका  ४  र अपरिचित व्यक्तिबाट ११ बालिका बलात्कृत भएका छन्। हाडनाताबाट बलात्कार भएका १७ बालिकामध्ये ९ जना बालिका आफ्नै बाबुबाट बलात्कार भएका छन् ।

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा पाँच वर्ष वा सो भन्दामुनि ९, ६ देखि १० वर्षका १९, ११ देखि १४ वर्षका ४४ र १५ देखि १८ वर्षका २५ बालिका रहेका छन् ।

परिवारको सदस्यका अगाडी हेरचाह गरेजस्तो, माया गरेजस्तो, स्नेह, प्रेम, ख्याल गरेजस्तो, चिन्ता गरेजस्तो गर्ने तर एकान्त वा ठाउँ पाएसम्म कुदृष्टि लगाउने पात्रहरुको बिगबिगी भएको छ ।

तितो तर यथार्थ ।

जब प्राकृतिक विपत्ति, प्रकोपहरु र हालका जस्ता महामारीले ओठ मुख सुकाउँछन् । जब कसरी बाँच्ने भन्ने भयसँग पौँठेजोरी खेल्नुपरेको हुन्छ,त्यति नै बेला महिला, बालबालिका, विशेष अवस्थामा मानिस, वृद्धा असुरक्षित भएका हुन्छ । तर विपत् को बेला यसबारे सोच्ने फुर्सद प्रायलाई हुँदैन । तर अब परिवारबाटै समेत छोरीचेली असुरक्षित भएको कारण आफ्ना बालबालिकालाई अभिभावकले विशेष हेरचाह र निगरानीमा राख्नुपर्छ । उनीहरुलाई यस्तो महामारीबाट जोगाउनु त छँदैछ । शारिरीक वा मानसिक दवाबमा परेर पारेर हुनसक्ने यस्ता कृयाकलापबाट पनि जोगाउनुपर्छ । जतिबेला साथ, सहयोग, माया, हेरचाह चाहिन्छ त्यहि निहुँ पारेर धेरै यौनजन्य क्रियाकलाप भईरहेका हुन्छन् । यस्तो अवस्थामा आफ्नै छोरी, नातिनी देखि हजुरआमा सम्म दुर्व्यवहार, यौनशोषण, बलात्कार र हत्याजस्ता जघन्य अपराध भएका छन् ।

स्वभाविक हो, बालबालिका निश्चल हुन्छन् । जसले मायाले बोलायो वा खान दियो उनीहरुको नजिक हुन्छन् । तर यौनपिपासुले तिनलाई नजानिँदो तरीकाले प्रयोग गर्न सक्छन् । थाहा नपाउने तरिकाले दुव्र्यवहार गर्न र दोहोर्‍याउन सक्छन् । कतिपय अवस्थामा धाक, धम्की, डर, त्रास देखाएर यस्ता घटना बाहिर नभन्न समेत चेतावनी दिइरहेका हुन्छन् । यी सबै कुरा बालबालिकाले सहजै बाहिर ल्याउन वा आफूमाथि के भइरहेको छ भन्ने भेउ नपाउन सक्छन् । त्यसैले गाँस बास कपाससँगै आफ्ना बालबालिकाको हेरचाह र विशेष निगरानी परिवार र अभिभावकको महत्वपूर्ण जिम्मेवारी हो ।

अभिभावकले बुझ्नैपर्छ : यौन दुर्व्यवहार भनेको के हो ?

कसैले बालबालिकालाई फकाएर, डर देखाएर, धम्काएर, प्रलोभन वा अनुचित प्रभावमा पारेर निम्न क्रियाकलाप गर्छ भने त्यो बाल यौन दुर्व्यवहार हो ।

– यौन आनन्द ,संतुष्टीका निमित बालबालिकाको गुप्ताङ्ग वा शरीरको कुनै पनि भागमा छुनु,घर्षण गर्नु , चुम्बन गर्नु वा गर्न लगाउनु

– बाल यौन शोषण गर्ने वा गराउने, वेश्यावृति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने

– बालबालिकासँग कुनै पनि माध्यमबाट अश्लिल शब्द बोल्नु /बोल्न लगाउनु । बाल यौन दुर्व्यवहार कुनैपनि बालबालिकाको गल्ती होइन, यो बाल अधिकारको उल्लंघन र फौजदारी अपराध पनि हो ।

बालबालिकालाई माहामारीसँगै यौन दुर्व्यवहारबाट कसरी बचाउने ? 
अहिलेको मुख्य विषय भनेको नै माहामारीबाट कसरी बालबालिकाहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने नै हो । त्यसैले सरकारले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । तर उनीहरु परिवारभित्रै हिंसाको शिकार हुनसक्नेतर्फ बेलैमा सचेत हुनुपर्ने बताउँछन् केन्द्रिय प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवर । उनी सम्पूर्ण अभिभावकलाई सुझाव दिँदै भन्छन् :

  • बच्चाहरुलाई संक्रमणबाट रोक्न उनिहरुलाई घरबाट बाहिर निस्किन दिनुभएन । साथीसंगत बाहिर हुने खेलकुद गतिवीधिमा जान दिनु भएन । अनलाइनको माध्यमबाट निरन्तर पढाई अघि बढाउनुपर्छ । परिवारले संस्कार नैतिकताका पाठदेखि विभिन्न कथा, कविता, रोचक प्रसंग, विश्वबारेमा जानकारी दिनुपर्छ ।
  • अनलाइन कक्षा पढ्दा पनि अविभावकले पढिरहेको त छ नि ! भनेर मतलब नगर्ने वा बालबालिकाको भरमा मात्रै छोडिदिनु हुँदैन । उनीहरुले अनलाईनबाट गलत किसिमको सूचना, डर, त्रासजस्ता बालबालिकामा नकरात्मक मानसिक असर पार्ने क्रियाकलाप वा गतिवीधि सामना गर्नुपरेको छ कि त्यसबारेमा पनि विचार गर्नुपर्छ ।
  • अविभावकले आफ्नो बच्चाहरुप्रति निगरानी पनि राखिरहनुपर्छ । बालबालिकाहरु गलत बाटोमा हिड्दैछन् कि ! भनेर शंका पनि राख्नुपर्छ ।
  • प्रविधीको प्रयोग, गुड टच ब्याड टच, मानिसको मनशाय, हुनसक्ने घटनाबारे बुझाउन पनि सकिन्छ ।
  • बालबालिकाहरु स्वभावले नै चन्चल ,उत्साहित र कौतुहल हुन्छन् । यो कुरा बुझेर हरेक अभिभावक बालबालिकाको साथी बन्न सकेमा यस्ता घटना सकभर हुँदैनन् भएमा तत्काल पिडितको उद्धार, न्याय, अपराधी पक्रन पनि सहज हुन्छ ।

जान्नुहोस्  :  यौन दुर्व्यवहारबाट बालबालिका कसरी बचाउने ?
एसएसपी कुँवरका अनुसार ७० प्रतिशत बालबालिका आफन्तबाट नै यौन दुर्व्यवहारमा परेका छन् । यो घरको समस्या हो । यस्तो हुन नदिन घरको सदस्य एकदमै सचेत हुनपर्छ। घरको कुन सदस्यले बालबालिका माथि कस्तो व्यवहार गरीरहेका छन् ? आमाबुबाले निगरानी गर्नुपर्छ । यो अप्रिय सुनिएतापनि बाहिरिएका घटनाक्रमले घरमा नै यस्तो यौनजन्य घटना बढीरहेको पुष्टि भइसकेको हुनाले सचेतना अपनाउनै पर्छ । उनी थप्छन्, परिवारका कुनै न कुनै व्यक्तिलाई परिवारकै अर्को सदस्यमाथि शंका लागेमा वा घटना थाहा भएमा प्रहरीमा खबर गरिहाले यो घटना हुने संभावना रहँदैन । घटना नभई प्रहरी कुनैपनि व्यक्तिको घरमा गएर अनुमानका भरमा अनुसन्धान गर्न मिल्दैन । घटना भइसक्दा धेरै कुरा बिग्रीसकेको हुन्छ । समय घर्किसकेको हुन्छ । यसर्थ यसको बारेमा अविभावक सचेत हुनैपर्छ।

बच्ने उपायहरु अरु के छन् ?

बालबालिका के कस्ता सामाजिक सञ्जालमा संलग्न छन् ? अभिभावकले निगरानी राख्नुपर्छ । बालबालिकाको संगत, आनीबानी, चासो रुचीका विषयमा पनि ध्यान दिनुपर्छ ।

आफ्ना बालबालिका कुनै लोभलालचमा फस्दैछन् की उनीहरुमाथि मायासँगै शंकाले पनि हेर्नुहोस् । बालबालिका अन्य देशका नागरिकसँग कत्तिको घुलमिल भएका छन्, उपहार वा खेलौना दिने नाममा वा पुस्तक तथा पाठ्यसामाग्री दिने नाममा यौन दुर्व्यवहारको दलदलमा फसेका पो छन् कि ?

आफ्नो शरीरलाई अनावश्यक रुपमा सकेसम्म कसैलाई छुन नदिनेबारे सिकाउनुहोस् । अर्थात् सही र गतल नियत, स्पर्शबारे थाहा दिनुहोस् किनभने, आफ्नो शरीरमा आफ्नो मात्र अधिकार हुन्छ ।

यदि कस्रले छुन खोजेमा आफूलाई मन नपरेको प्रतिकृया दिने हुँदैन भन्नेबारे सिकाउनुहोस् । कसैले जबरजस्ती गरेको खण्डमा भाग्ने ,चिच्याएर अरुको सहयोग माग्ने,आत्मरक्षाको उपाय अपनाउनेबारे सिकाउनुहोस् ।

यदि घटना भइसक्यो भने लुकाएर नराख्ने । कतिपय अभिभावकले पिडितलाई न्याय दिनेभन्दा पनि ईज्जत जान्छ भनेर घटना लुकाउँछन् । यो गलत प्रवृत्ति हो । आफ्नो अभिभावक , शिक्षक वा विश्वासिलो कुनै जिम्मेवार व्यक्तिलाई भन्न, सकेसम्म एक्लै नबस्न सिकाउनुहोस् ।

प्रहरीलाई १०० मा फोन गर्ने अवस्थाबारे बालबालिकालाई थाहा दिनुहोस् ।

बालबालिकाहरुलाई घरमा कस्तो वातावरण बनाईदिने ?

एसएसपी कुँवर भन्छन् , ‘घरमा एकदम सहज वातावरण बनाइदिने ताकि उनीहरुले सुखमात्रै वा खुसी मात्रै होईन अप्ठेरो पनि साट्न सकुन्।’

लेखपढ गर्नलाई बढीभन्दा बढी दबाव दिने प्रवृत्ति धेरै अभिभावकमा देखिन्छ । यो सरासर गलत हो । यहि प्रवृत्तिले कतिपय अवस्थामा दुर्घटना निम्तिएका छन् । तिमिले यति नम्बर ल्याउनैपर्छ वा तिमी यो बन्नैपर्छ, फलानुले के भन्छ ? ‘अर्को मान्छे तिमीभन्दा धेरै राम्रो छ’ जस्ता अनावश्यक कुराहरु उनीहरुसँग गर्न आजैबाट छोड्नुहोस् ।

शान्त वातावरण दिनुहोस् । किनकी खेलिरहेको, स्कुल गइरहेको खाना खाइरहेको बालबालिका थाहै नपाई मानसिक तनावको शिकार भएको र आत्महत्याजस्तो गलत बाटोमा हिँडेको घटना समेत छन् । यसबारे अभिभावक सचेत हुनुहोस्।

अपराध न्यूनिकरणमा प्रहरी भन्दा पनि अविभावककै पहिलो भूमिका रहन्छ । यसरी दिनानुदिन बढ्दै गएको बालबालिका यौन हिंसा तथा यौनजन्य क्रीयाकलाप यो महामारीको बेला बढ्नसक्नेतर्फ सबैजना सचेत होऔँ ।

कुराकानीको अन्त्यमा उनले अनुरोध गरे, ‘बालबालिकालाई सभ्य, सुसंस्कार, शारिरीक मानसिक रुपमा स्वस्थ ढङ्गबाट हुर्काऔँ । आफ्नो बालबालिकाको भविष्य सुन्दर बनाईदिऔँ।अपराधमुक्त समाज निर्माणमा आ – आफ्नो आफ्नो ठाँउबाट सहयोग गरौँ ।’

लेखकबाट थप : 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 
तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?