तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न !

चन्द्रकला कार्की /काठमाडौं – वैशाख १७ गते, शुक्रवार । निषेधाज्ञाको दोस्रो दिन । स्थान : जडिबुटि मनोहरा तरकारी बजार । ठेलमठेल भिड । बजारका अगाडी राखिएका पत्रिकामा बडेमानका अक्षरमा लेखिएको छ, ‘कोरोनाको भुंग्रो नेपालमा सल्किँदै।’

तरकारी किन्न बजारभित्र प्रवेश गर्ने त्यतिकै भिड । तरकारी बोकेर बाहिर निस्किने उस्तै भिडमा बाहिरिँदै ।

No description available.

कोरोनाको भयावह अवस्थाबाट जोगिन उपत्यका काठमाडौं भक्तपुर र ललितपुरमा लकडाउन त  गरियो तर सवारी साधन, तरकारी बजारमा निर्धारित समयमा देखिएको यो भिड हेर्दा यस्तो लाग्छ, नेपालमा न लकडाउनको पूर्ण कार्यान्वयन छ न त डबल म्युटेन्ट भेरियन्टबाट कसैलाई डर।

‘के गर्नु तरकारी किन्न परिहाल्यो । तर यहाँ आउँदा झनै डर लाग्छ ।’ मानिसहरु आपसमा दुखेसो साट्दै थिए ।

‘अत्यावश्यक भन्दैमा तीव्र दरमा भयावह स्थिती निम्त्याउने हिसाबले भुसको आगोसरह फैलिएको कोरोनालाई वेवास्ता गरी यति धेरै भिड गर्दै जाँदा कतै झनै भयावह अवस्था सिर्जना हुने त होईन ?’ तरकारी बेच्न स्टलमा बसेका व्यापारी समेत त्रसित देखिन्छन् ।

काभ्रे घर भई हाल भतmपुर ठिमिमा बसेर ४ बर्ष देखि जडिबुटिमा तरकारी बेच्दै आएकी ३५ बर्षिय फुलमाया तामाङ तरकारी बेच्नु बाध्यता भएको तर कोरोनाको कारण आफू औधि डराएको, अस्पतालमा बेड र अक्सीजनको समेत कमी भएकोबारे थाहा पाएको, मरीन्छ कि झैँ डरलाग्दो अवस्था भएको, मास्कको प्रयोग गरिरहेको र यस बजारमा भिडभाड बढीरहेकोबारे उनी जानकार छिन् ।

No description available.

‘यती धेरै भिड हुँदो रहेछ यो भिडबाट कोरोना सर्दैन ?’ मैले पत्रकार हुनुको धर्म निभाएर प्रश्न तेर्साए ।

उनि भन्छिन् , ‘यो त धेरै कम हो बहिनी, १० बजेसम्म बजार खुल्छ सबै ग्राहकहरु १० बजे भित्र नै आइसक्नुहुन्छ । बिहान चाहिँ जति बजे खोले पनि बन्द चाहिँ १० बजे नै गर्ने हो । त्यसैले ग्राहकहरु बिहान ३ बजे देखी नै आउन थाल्नुहुन्छ । यहाँ भौतिक दुरी कायम गर्नुपर्छ भनिए पनि भिड धेरै हुने भएकोले सम्भव नै हुदैन । यहाँको व्यवस्थापन समिति र बजार व्यवस्थापनले कुनै यस्तो नियम बनाएको छैन । यति ठाँउमा यति जना मात्र मान्छे आउन पाउने भनेर तोकिदिएका छैनन् । मलाई थाहा छैन । त्यसैले जति मान्छे आउँदा नी कसैले केहि नभन्ने भएर यस्तो भिडभाड भएको हो ।’

No description available.

उनि थप्छिन्, ‘मास्क नलगाई आउनेलाई मास्क लगाउन लगाउन भन्छु र आफूसँग छ भने लगाउनुहोस् भनेर दिने पनि गरेकि छु । तर व्यवस्थापनले नै छुट्टै नियम नबनाइदिएसम्म हामिले भन्दा मात्र ग्राहकहरु रिसाएर तरकारी नै नकिनी हिँडेको अनुभव पनि छ । के गर्नु बेच्न पनि पर्यो । पापी पेटको सवाल छ । तर व्यवस्थापनले यदी यो काम गरिदियो भने सजिलो हुनेथियो ।’

जडिबुटीमै बस्दै आएका ३७ बर्षका सुजन लामा भन्छन्, ‘सामाजिक दुरी कायम गरेर साध्य नै छैन । भएभरको मान्छे एकै चोटी छिर्छन् । समय छुट्टाइदिएको छ । बिहान ५ बजेदेखि १० बजेसम्म मात्र खुल्न दिने भनेर नियम बनाएका कारण सबैजना एकदमै हतारमा हुन्छन् । त्यसैले सबै ग्राहकको थेगिनसक्नु भिड हुन्छ । कोरोनाको डर हामीलाई नभएको हो र ?’ उनी प्रतिप्रश्न गर्छन् ।

No description available.

‘तरकारी बजार दिउँसो भरी खुल्ला राख्न दिने र एक चोटीमा १५ देखि २० जना मात्र छिरेर छोटो समयमा बाहिरिने, सामाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्यता गरेमा कोरोनाबाट बचिन्थ्यो कि ?’ सुजन भन्छन्, ‘हामी आफैँले नियम बनाएर हुँदैन यसको लागी व्यवस्थापनले नै पहल गरीदिनुपर्छ। व्यवस्थापनले नै हेलचक्र्याई गरेको जस्तो लाग्छ । यस बजारमा ५ वटा गेट छन् ५ वटै खुल्ला हुन्छ तर गेट पाले १ जना मात्र छ । एउटा मान्छेले ५ वटा गेटको सुरक्षा र आवतजावत गर्ने मानिसको निगरानी कसरी गर्न सक्छ ?’ उनी आक्रोशित सुनिए ।

यसको लागि व्यापारीहरुले व्यवस्थापनलाई पनि कुरा राखेको तर कुनै सुनुवाई नभएको उनीहरुको भनाई छ ।

तरकारी बजारमा हस्याँङफस्याँङ गर्दै आइपुगेका ग्राहकको दुख पनि उस्तै छ ।

ललितपुर बस्दै आएका ५० बर्षिय तेजबहादुर पुरी भन्छन्, ‘यत्रो महामारी छ । छिमेकी मुलुकमा त्यो हालत पारिसक्यो । नेपालमा पनि तराई भेगमा अवस्था बिग्रीरहेको छ । जनस्वास्थ्यलाई ध्यान दिएर व्यवस्थित बनाउन पर्ने हो । खान परिहाल्यो नआई पनि हुँदैन बजार भित्र भिड यस्तै हुन्छ भने जति नै लकडाउन गरेतापनि के हुन्छ र ? सबैले नियम मानिदिनुपर्छ । व्यवस्थापनले यसलाई गम्भिर रुपमा लिई दिए संक्रमण दर घटाउन पनि टेवा पुग्थ्यो ।’ हातमा तरकारीको पोको बोकेका उनी उस्तै हतारिँदै घर तर्फ लागे।

No description available.

हातमा सेनिटाइजरको बट्टा बोकेर ग्राहकको हातमा राखिदिँदै भ्याईनभ्याई छ सुरक्षागार्डलाई पनि । उनी उभिएकाबाहेक अन्य ४ वटा गेटबाट मानिसहरु आफ्नै तालमा हिँड्दैछन् ।

‘१ जनाले ५ वटा गेटको रेखदेख कसरी भ्याउनुहुन्छ ? तपाई यहाँ सेनिटाईजर लगाउन भन्नुहुन्छ । अरु चारवटा गेटमा मानिसको टाउको ठोक्कीने ठेलमठेल भिड छ।’ प्रश्न सुनेपछि सतर्क देखिएका उनी गुनासो गर्छन्, ‘दुवैतिर गरी यस तरकारी बजारमा १० वटा गेट छ । दुई जनाले भ्याउनुपर्छ । ७ वर्ष देखि सेक्युरीटी गार्डको रुपमा काम गर्दै आएको छु । सामान्य अवस्थामा त रेखदेखका लागि भ्याइएको थियो तर कोरोनाको यो भयावह अवस्थाका बेला जनशक्ति थप्ने भन्दा भन्दै व्यवस्थापनले कार्यान्वयन गरेको छैन । कोटेश्वर बस्दै आएका ५१ वर्षिय तेज पौडेल गुनासो गर्छन् । उनी थप्छन्, पार्किङको व्यवस्थापनमा उस्तै हम्मेहम्मे परेको छ ।’ बजारको व्यवस्थापक महेश कार्की हुनुहुन्छ । उहाँसँग कुरा गर्दा हुँदै गर्छ । चल्दै गर्छ भन्ने आशयको जवाफ आउँछ ।

No description available.

हामीले प्रश्नसहित लोकपथको बुम तेर्सायौँ उनै बजार व्यवस्थापक कार्कीतर्फ । उनी भन्छन्, ‘हामी आफैँ सचेत हुनुपर्छ हामी आफै बुझ्ने भईसक्यौँ यो रोग कति भयावह रुपमा फैलिरहेको छ भनेर कसलाई थाहा नहोला ? हामीले ठाँउ – ठाँउमा सेनिटाइजर राखिदिएका छौँ । ग्राहकहरु पनि मास्क लाएर सेनिटाइजर लाएर मात्र भित्र छिर्नुहुन्छ । कोहि मास्क नलाइ आउनेलाइ मास्क पनि बाढ्ने गरेका छौँ । पसल खोल्ने निश्चित समय भएकोले भिडभाड चाहि अलिक बढि नै हुन्छ । सरकारले नै पसल खोल्ने समय छुट्टाइदिइको उनले बताए । हामी यसको बारेमा छलफल गरीरहेका छौँ चाँडै प्रभावकारी नियम बन्छ । ग्राहक तथा व्यापारी सबैलाई संक्रमणबाट बचाउनु र आफू पनि बाँच्नु हाम्रो कर्तव्य र चुनौति हो ।’

उपभोक्ता अधिकारकर्मीले पनि निश्चित समयको कारण मानिसहरु उपभोग्य वस्तु किन्न जाँदा एकै समय पर्ने हुँदा भिडभाड बढ्न गई कोरोना संक्रमण बढ्न सक्ने जोखिम रहेकोले बेलैमा उच्च सावधानी अपनाई व्यवस्थापनले योजनाबद्ध रुपमा निगरानी बढाउनुपर्ने बताउँछन् ।

कोरोनाको चेन ब्रेक गर्न लकडाउन आवश्यक छ । तर तरकारी लगायतका खाद्यसामाग्री ओसारपसारमा रोकतोक नगरिएतापनि संकलन केन्द्र र बजारमा देखिएको डरलाग्दो भिडभाड बेलैमा व्यवस्थापन गर्न आवश्यक छ ।

हिजो (बिहीवार) नेपालमा कोरोनाको कारण दैनिक भएको मृत्युदर हालसम्मकै सर्वाधिक हो । अर्थात् नेपालमा कोरोना संक्रमण देखिएको १५ महिनाको अन्तरालमा हिजो एकैदिन सर्वाधिक ३५ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ सय ४६ पुगेको छ । २४ घण्टामा ४८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ जना रहेको छ ।

अस्पतालहरुमा बेड नपाइने स्थिती छ । अक्सिजनको समेत हाहाकार भएको छ । त्यसैले यो लडाई गतवर्ष जस्तो सहजै जित्न सकिँदैन भन्ने विज्ञहरुको सुझाव शिरोपर गरेर बेलैमा सबैले उच्च सावधानी अपनाउनपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?