ए सरकार ! सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ?

काठमाडौं – आकाश यसरी गर्जँदो छ कि, उसलाई मानिससँग धेरै असन्तुष्टि सुनाउनु छ । बिजुली चम्किँदा निस्केको झल्याकझुलुक प्रकाश र गडगडाहटले गोधुली साँझमा कालो पोत्दैछ । साँझ ५ : ३० बजेको छ । स्थान : लोकन्थली, भक्तपुर चोक।

कोरोना भाइरसको चेन ब्रेक गर्न भन्दै सरकारले काठमाडौं उपत्यकासहित देशका १६ बढी जिल्लामा निषेधाज्ञा लागू गरेका कारण मानिसहरु घरमै थुनिएका छन् ।

अत्यावश्यक खाद्यान्न किनमेलका लागि समय तोकिएका कारण पनि सडकमा यो समय मानिसहरु देखिएका छैनन् ।

अघिपछि भिडभाड र हल्लाखल्ला हुने यो सडक सुनसान देखीएको छ। तर कालोबादल मडारिएको आकाश र निस्किरहेको डरलाग्दो आवाजको कुनै पर्वाह छैन, सुनिता लामा (५०) लाई ।

फुस्रो रङको पछ्यौरा ओढेर, कालो मास्क लगाई, किरेटमाथि केहि मुठा साग राखेर उनी ३ घण्टादेखि ग्राहक आउलान् कि भनेर बाटोमा नजर पुर्याइरहेकी छिन् । सडक पेटीमा चप्पल ओछ्याएर टुसुक्क बसिरहेकी उनको आफ्नै कथा छ, जुन कुनै काल्पनिक ट्रयाजेटी सिनेमा भन्दा कम्ता दर्दनाक छैन ।

मास्कले छोपिए बाहेक देखिएको त्यो उनको निधारमा परेका मुजाले धेरैथोरै उनको व्यथा त पोखेका थिए तर जब उनैले मनमा परेको पिरको पोको खोलिन् तब मैले वास्तविक श्रमिकका मुद्धा देखाएर सत्तामा पुगेकाहरु र तिनका संवेदनहिन लाग्ने व्यवहार र भाषण सम्झिएँ ।

जब काँधमा मानिसले धान्ने नसकिने बोझ आईलाग्छ तब उमेरभन्दा १० वर्ष अघि नै निधारले बुढ्यौलीको संकेत देखाईदिँदो रहेछ भन्ने ठम्याइसहित मैले उनीसँग भौतिक दूरी कायम गरी केही जिज्ञाशा राखेँ ।

***

‘बेलुकाको छाक यहि साग बेचेर आएको पैसाले चलाउँछु नानी ।’ उनले मौनता तोडिन् । कसैले लगेनन् भने ? घरमा खानेकुरा छैन ? अरु कसैको कमाई छैन ? पहिलेको कमाई जोगाउनु भएको छैन ? अनायासै मेरो मनमा प्रश्न तँछाडमछाड गरे । तर ओठमा आएर रोकिए । किनकी पत्रकारको पनि आफ्नो धर्म छ, महामारीमा मानवियता ख्याल गर्नुपर्ने।

घरीघरी तन्किँदै यताउता ग्राहक खोज्न नजर हुत्याइरहेकी उनले केहिबेरको मौनता तोडिन् । घामले केहि ओईलाएका सागका मुठा मिलाउँदै कुरा शुरु गरिन् ।

चरीकोट, दोलखा हो उनको घर । हाल भक्तपुर लोकन्थली बस्छीन् । उमेर ५० नाघ्यो कि ! उनी अनुमान गर्छिन् । १ छोरा १ छोरी छन् घरमा । छोरा र छोरी दुवै जना स्नातक तह अध्ययनरत छन् । उनका श्रीमानले अर्कै श्रीमति ल्याएर गाँउतिरै बस्दै आएका छन् । परिवारको खर्च धान्ने र जिम्मेवारीबोध गर्ने मानिस नभएपछि उनको काँधमा सम्पूर्ण घरव्यवहार आइलागेको हो । खाना, नाना, छाना, छोराछोरीको पढाई उनी एक्लैको काँधमा थियो । छ ।

‘महिनाको पाँच हजार त कोठाभाडा छ नानी ।’ उनका अनुसार परिवारका ३ सदस्यको ओत लगाउने गुँड भनेको एउटा चार कुने कोठा नै हो ।

‘लकडाउन नहुँदा कमसेकम धानेको थियो । तैपनि आश लाग्छ, अलिकति भएपनि आइहाल्छ कि ! यसो तिरोतारो पुग्छ कि ? दिनहुँ यहि बस्ने गर्छु ।’

ग्राहक कुर्दाकुर्दा उनको ज्यान दुखिसक्यो ।

***

भुईमा ओच्छ्याएर बसेको आफ्नै चप्पल मिलाउँदै उनी थप्छिन्, ‘लकडाउन हुनुभन्दा पहिले ठेला डुलाएर तरकारी बेच्थेँ । अब त्यसरी लाँदा पक्रिन्छ रे। कोरोनासँग निकै डर लाग्छ । यो भाइरस कडा छ रे । मान्छे गलाउँछ रे । तर पापी पेटले मान्दैन । के गर्नु ? ‘ उनी विवश सुनिन्छिन् ।

‘अहिले छोराछोरी को काम पनि छैन । जसोतसो गरेर उनीहरुलाई सरकारी कलेज पढाउँदै आइरहेकि छु ।’ यसो भन्दा उनी केहि विश्वस्त सुनिन्छिन् । उनलाई विश्वास छ, ‘छोराछोरीलाई दुखजिलो गरेर पढाइदिन पाए आफूलेजस्तो दुख पाएर भौतारिनु पर्दैन ।’

आकाशले गड्गडाउन छोडेको छैन । पानीका थोपाहरु खस्दैछन् । वरीपरीका पसल सटर सडक सुनसान छन् । छिटफुट बाहेक बाटो हिँड्ने मान्छेको चहलपहल छैन ।

***

कोरोनाबाट जोगिन सरकारले पोहोर यसबेला गरेको लकडाउनमा पनि धेरै समयसम्म भाडा नतिरेको भनेर उनको परिवारलाई घरबेटीले घरमा पस्नै दिएका रहेनछन् ।

‘कमाउने दुई चार रुपैयाँ हो । त्यो पनि आउने बाटो बन्द भएपछि कसरी तिर्ने भाडा ? भएको ठेला पनि घरबेटि कै कारण भताभुङ्ग भयो । छोरीले पहिले फाइनान्समा काम गर्थिन्, त्यो पनि बन्द भयो । छोराले पनि बेला बेला ठेक्कापट्टाको काम गर्थ्यो, अहिले त त्यो पनि छैन । कमाइ भनेको मैले बाटो ढुकेर जति साग बेचेँ त्यहि नै हो । अहिलेको लकडाउन पनि पहिला जस्तै लम्बिएर कमाइ नभएर घरबाट निकालिने डर भएको छ । त्यसैले ठेला नभएपनि यहि पुरानो किरेटमाथि राखेर साग बेचेको छु ।’ एक श्वासमा सुनाईसकेर उनले खुईई… गरिन् ।

***

दुखसँग पौँठेजोरी खेलेर छोराछोरी हुर्काएकी उनको वैवाहिक जीवन सफल भएन । मैले जिज्ञाशामा एउटा शब्द ओकलेँ, ‘किन ?’

‘मारे पाप, पाले पुण्य’ भन्थे हाम्रा पालामा नानी ! तर मेरो श्रीमानको अत्तोपत्तो छैन । छोराछोरीकै लागि बाँचेकि छु । आफ्नो बुबाबाट उनिहरुले पनि धेरै दुःख पाएका छन् । दश कक्षा पास गरेपछि नै काम खोजेर सानोतिनो काम गरेर मलाइ घर खर्चमा सहयोग गर्दै आएका छोराछोरी अब त कलेज पढ्न थालेका छन् ।’

हुनपनि जीवनसाथी भनेको एक रथका दुई पांग्रा हुन् तर विवश छिन् , सुनिता । उनको जीवनको रथ पञ्चर भएको छ । एकमात्रै पांग्राले तानेको छ, उनको जीवन । उनलाई थाहा छैन, एक पांग्राको भरमा कतिन्जेल तानिन्छ जीवनको रथ !

***

बितेको १२ वर्षदेखि घाम/पानी, साँझ/बिहान, बिसन्चो, चाडवाड/बिदा नभनी ठेलामा तरकारी डुलाएर बेचिरहेकी छिन्, उनी । बिहान उठेर ठेला गुडाएसँगै उनको जीवनको रथ अघि बढ्छ र साँझ चार कुना भएको कोठामा आएर छोराछोरीसँगै उनको दिन ढल्छ ।

‘कहिलेकाहिँ तरकारी बिक्री नभएर फाल्नुपर्छ । यसो गर्दा हाम्रो भान्साले अरु तरकारी पकाउन सक्दैन । पैसा पुगे पो ?’ पोहोरको लकडाउन पाँच महिना त तरकारी र साग मात्र खाएर कटायो सुनिताको परिवारले ।

दुखजिलो गरेर सुनिताले हुर्काएको छोरा २१ वर्ष पुगे । २४ लागिन् छोरी । अब उनीहरुको बिहे गर्नेबारे सोच्न थालेकी सुनितालाई लकडाउने पिर थपिदिएको छ। भन्छिन्, ‘कमाईसमाई मरुँ ! छोराछोरीको बिहेबारी कसरी उतारुँ ?’

***

सुनितालाई यो शहरले धेरै कुरा सिकायो । कहिले धरधरी रुवायो ! कहिले छोराछोरीको खुसीले हँसायो पनि ।

सपक्क पारेर टाउको ढाकेर ओडेको पच्छ्यौरी मिलाउँदै भन्छिन्, ‘अब त बानी पर्‍यो नानी । दुख/सुख घाम/पानी रहेछ, जीवन ।’ उनी परिपक्व सुनिईन् ।

उनले छोरालाई स्नातक तह सकेर लोकसेवा पढ्न सुझाएकी छिन् । उनको भोगाई, सोच र जीवनको अप्ठेरा पहाडबारे सुन्दा यस्तो लाग्छ, उनले भोगेको आफ्नै जीवनको पाठले विश्वविद्यालय नटेके पनि सुनिताले जीवनमा आइपर्न सक्ने केहि अध्याय भने अरुलाई सतर्क बनाउन सक्नेगरी महशुस गरेकी छिन् ।

छोराले पनि पढ्ने रहर गरेको छ। उनी मास्कले छोपिएको सुनिताको ओठमा यतिबेला मुस्कान छाएको हुनुपर्छ । चिम्सो परेका आँखाले यहि संकेत गरे ।

छोराले लोकसेवामा नाम निकाल्यो भने ? मैले उनको भरोसा सुन्न चाहे ।

कसैले नहेप्ने, बुहारी पनि राम्रो आउने, समाजले पनि इज्जत गर्ने र बुढेसकालको सहारा बन्नसक्ने आशले उनले भगवान् पुकारेकी छिन् ।
‘कहाँको/कहाँको भसक्कै पार्ने के अनौठो सुन्न न सपानुको रोग  फैलिएर मार्यो ।’ फेरि उनी अशान्त सुनिन्छिन् ।

श्रीमानले आफूलाई छोडेर अर्कैसँग गएपनि छोराछोरीको माया र उनीहरुले देखेको सपनाले सुनितालाई बाँच्न र हाँस्न हौसला मिलेको छ ।
‘मेरो छोराछोरीले पनि दुख बुझेका छन् बा ! नचाहिँदो खर्च गराउँदैनन् । मलाई दुख दिँदैनन् । दुखले आमाको ज्यान सुकेको छ भनेर बुझ्छन्’ ।

उनको माइति पनि नजिकै भएकोले एक्लो अभिभावक भएर पनि उनमा हिम्मत डग्मगाउन पाएको छैन ।

‘आर्थिक सहयोग नचाहिँदो रहेछ । हामी छौँ तेरो लागि भनने माईति भए कहाँ हो कहाँ ? धेरै आडभरोसा हुन्छ । काम गरेर खान हिम्मत आउँछ।’ निर्भिक स्वमा उनले भनिन् ।

कुराकानीको बिट मार्ने तरखरमा रहेकी मलाई अघिदेखि चिच्याएको आकाश रोएर केहि भिजाइसकेको थियो । छड्के पानीलाई पछ्यौराको छेको पार्दै उनले किरेट उचालिन् र साग खाँदखुद पारेर सटर छेउमा ओत लागिन् ।

‘नानी ! यो महामारीबाट चाहिँ बचेर काम गर्नुस् है ? उनले केहि पर पुगेको मलाई बोलाएर आमा हुनुको ममता दर्शाईन्।

भुसको आगोसरी फैलिएको कोेरोना नियन्त्रणमा दोस्रोपटक चुकेको सरकारलाई सुनिता दिदीहरुको कथाले किन छुँदैन ? हुँदाखाने वर्ग धेरै छन्, नेतृत्व यो वर्गलाई किन हरेकपल्ट बिर्सन्छ ? के यो देश सुकिलामुकिलाको मात्रै हो ? त्यसो भए सुनिता दिदीहरुको देश कुन हो ? सरकार कुन हो ? अभिभावक को हो ? देशको विषम परिस्थितीको सामाना गर्नुपुर्व किन कुनै योजना बन्दैन, जहाँ सुनिताहरुको दुख दर्ज होस् ? अलिशान महलमा बसेर सुनिताहरुको भोट निर्णायक बनाउने कुपात्रसँग आक्रोशका ज्वाराभाटासहित धारीला प्रश्नहरु डेरा पुग्दासम्म मेरो मनमा आईरह्यो।

***

लेखकबाट थप : 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?