२०७८,श्रावण,११,सोमवार

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

२०७८,बैशाख,२२,बुधबार १३:२७


चन्द्रकला कार्की /काठमाडौं –

‘क्षमता र योग्यता नहेरी आफ्ना र पकेटका मानिसहरुलाई सहजै जागिर दिने यो देशमा बल्लतल्ल काम पाएको थिएँ । तर पटक पटकको निषेधाज्ञा र लकडाउनले सार्‍हो पारेको छ, सिस्टर के गर्नु ?’

उनी एक फाइनान्समा दिनभर रकम संकलन गर्थिन् । ‘कलेक्टर’ भन्छन् हामीलाई’ उनले थपिन् ।

‘चर्को घाम र मुसलधारे पानी नभनी एउटा ज्यान पाल्न र पढाईको लागि केहि रकम जोहो हुन्छ कि भनेर हरेक घरका कोठा ढक्ढक्याउँदै रकम संकलन, दिनभर डुलेर बिन्तिभाउ गरेर मानिसलाई सहकारीमा सदस्यता बनाउनुपर्ने काम थियो मेरो ।’ उनले दुखको पोको खोलिन् ।

कोरोनाको पहिलो लहर र यसको जोखिमबाट बच्न सरकारले पोहोर चैतमा पहिलोपल्ट लकडाउन गरेका कारण उनको भइरहेको जागिर गुमेको थियो ।

सरकारले लकडाउन गरेलगत्तै कार्यालयबाट आएको फोनमा भनियो, ‘भोलिबाट आउन पर्दैन ।’ यो खबर उनको कानमा यसरी बज्रियो कि आँखाहरु रसाए । के खाने ? कसरी पुर्‍याउने ? भन्ने चिन्ताले पिरोलिएकी उनले सहकारीका लागि पैसा संकलन गर्ने काम केहि समय अघिमात्रै पाएकी थिईन् । उनको भित्रीमनबाट यो काममा खासै रुची थिएन । तर फेरि बेरोजगार हुने डरले हत्तपत्त ‘हुन्छ’ को संकेत गरेर सहकारीमा पैसा संकलन गर्ने जागिर पाएकी थिईन्, उनले ।

बिहानको खाना बनाएर खाएर काममा निस्किएकी उनी एकैपटक साँझ संकलित रकम कार्यालयमा बुझाएर मात्रै घर फर्किन पाउँछिन् ।

मध्यान्ह १२ बजे झनै चाप हुन्छ । किनकी यो घाममा मानिसहरु बाहिर निस्किँदैनन् । यस्तोमा रकम संकलन गर्न सहज हुन्छ । धुलोधुँवा खाँदै सहकारीको पोशाक लगाएर स्कार्फ र मास्क लगाएर श्वासै फेर्न गाह्रो हुने गरी आँखा मात्र देखाएर दिनभरको यात्राले साँझ थकित हुन्थ्यो उनको ज्यान । तर यो लकडाउनको कारण उनको मानसिक स्थिती खल्बलिएको छ ।

‘सहकारीको ‘पासबुक’ बोकेर पसलको सटर सटरमा ‘च्याउने’ मात्र हो। कसैले बचत गर्न मान्ने हैनन्। न आफ्नो कमाई छ ।’ उनी दिक्क भाव व्यक्त गर्छिन् ।

‘सदस्यता बनेपछि ब्याज आउँछ, चाहिएको बेला ऋण दिन्छौ । हजुरहरुकै फाइदाको लागि ।’ हरेकसँग उनले बिन्ति बिसाउने वाक्य हो, यो । सजिलो त कहाँ छ र ? तैपनि बेरोजगारी भएर भौतारिनुभन्दा धेरै नभएपनि आफ्नो अत्याधिक आधारभुत कुराहरु पूरा गर्न सजिलो हुन्छ । पकेट खर्च हुन्छ।

उनी अर्थात् सरला (नाम परिवर्तन) । दोलखा स्थायी घर भई सिनामंगल बस्दै आएकि २० वर्षीया सरला तीन महिनादेखि एक सहकारीमा काम गर्दै आइरहेकी थिईन् । यो काम शुरु गरेको मुस्किलले तीन महिना मात्र भएको थियो । लकडाउन भईदियो । ‘मेरो कामको प्रकृति पनि मानिसहरुकोमा गएर संकलन गर्नुपर्ने छ । त्यसैले झनै समस्या छ । घरबाट बाहिर नै निस्किन नमिल्ने यो समयमा बाध्यताले नै निस्किन परेको छ। आफ्नो ज्यानको जोखिम मोलेर निस्किनु सिवाय अर्थोक केहि उपलब्धी भएको छैन । पसलहरु बिहान २ घण्टा मात्रै खुल्न दिईएको छ । यसैपनि मानिसहरु कमाई नभएको भन्दै बचत गर्न मान्दैनन् । भएको बचत पनि निकालेका छन् । त्यसैमाथि बिहान भिडभाड हुने भएकोले स्वास्थ्य जोखिम ।’ उनले एकैश्वासमा भनिभ्याईन् ।

‘पोहोर पनि एक साता /दुई साता गर्दै ५ /६ महिना भएको लकडाउनले गर्दा हामिलाई कति गाह्रो भयो, यो पालि पनि त्यसै हुन्छ, त्यसैले अहिले बचत गर्न सक्दैनौँ ।’ उनका अधिकांश बचतकर्ताले दोहोर्‍याएको वाक्य हो यो ।

‘अफिस त खोल्न दिईएको छ तर पैसा संकलन नै नभएपछि अफिस मात्र खोलेर के गर्नु ? यो परिस्थितीमा भएको बचत फिर्ता हुने र नयाँ बचत नहुने हो भने अफिस डुब्छ’ उनले अफिसमा गफगाफ भएको पनि सुनेकी छिन् । अफिस डुब्यो भने म पनि त डुबे नि बल्लतल्ल पाएको काम पनि अब बन्द हुने । त्यसमाथि मेरो गुजारा यसैबाट चलेको छ ।

निराश हुँदै उनले थपिन्, ‘खोई कस्तो रोग आयो यो न गरेर खान नै सकियो न त सजिलै मरेर जान। हामिलाई यति पिडा छ, झन् ति रोग लागेका र उनका परिवारलाइ कति पिडा होला ? मजदुर, ज्यालादारी गर्नेहरुको अवस्था के होला ?’ उनले आफूभन्दा पनि दुख अरु धेरैलाई छ भन्ने बुझेकी छिन् ।

बचत गर्न अनुरोध र पैसा संकलनको लागि उनी घरघर र मानिसहरुको सम्पर्कमा आउँदा घर परिवारलाई पनि खतरा छ । उनले बुझेकी छिन्, ‘अहिले मान्छेदेखि मान्छे डराएर हिड्नु पर्ने समय छ, कुन मान्छेमा भाइरस छ थाहा नै नहुने ।’

‘फेरी पहिलाको भन्दा धेरै कडा छ रे यो भेरियन्ट, घरमा बुढि आमै पनि हुनुहुन्छ । डर नै लाग्छ तर पनि आफ्नो काम गर्नै पर्‍यो ।’ लामो श्वास फेर्दै उनी गम्भीर सुनिईन् ।

उनको कार्यालयमा लेखापालमा काम गर्दै आएकी शर्मिला (नाम परिवर्तन) भन्छिन् , ‘लकडाउन हुने कुरा हुनु भन्दा अगाडि सम्म राम्रै बचत भइरहेको थियो एक्कासि लकडाउनको कुरा चलेपछि नयाँ बचत त हुन छाड्यो नै पुरानो बचत पनि प्राय सबै जनाले फिर्ता गर्नुभयो अब यसरी बन्द भईराख्यो भने हाम्रो दैनिक ऋण पनि उठ्दैन अनि अफिस नै डुब्ने भन्ने तनाव भएको छ । कर्मचारीहरुलाइ तलब दिनै पर्‍यो । दैनिक बचत नै रोकिएपछि सहकारी चलाउनै सकिँदैन ।’ उनी गुनासो गर्छिन् ।

करिब एक वर्ष हायलकायल बनाएको कोरोना भाइरसको दोस्रो लहरका कारण स्थिती भयावह बनेको छ । संक्रमणदरले दिनहुँ नयाँ रेकर्ड राखिरहेका छन् । मानिसहरु अतालिएका छन् । लकडाउनको कारणले वित्तिय संस्थाहरुले पनि घाटा बेहौर्दै आइरहेका छन् । पहिलाको करिब एक वर्षको अस्थिर र अन्यौलताबाट केहि शितलता आएको बखत नेपाल भित्रिएको कोरोना भाइरसका काररण सबै पेशा, क्षेत्र, व्यवसाय धरासायी बन्न पुगेको छ ।

लेखकबाट थप :

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

प्रकाशित मिति: २०७८,बैशाख,२२,बुधबार १३:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९९९ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा देशभरका विभिन्न

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा गर्ने घोषण गरेसँगै नेपाली फुटबल जगतमा तरङ्ग फैलिएको छ

ताजा समाचार