एकान्तबास !

८७ बर्षको भएँ, एक्लो छु । अठार सय तीन नामक फार्म हाउसको एकतलामा बस्छु । यो त्यहि ठाउँ हो, जहाँ गृहयुद्धको समय देखी मेरो परिवार बस्दै आएको थियो । जब मेरो हजुरबुवाको निधन भयो, त्यसपछि मेरो हजुरआमा केट पनि यहि ठाउँमा एक्लै बसिन् ।

उनका तीन छोरीहरु कहिलेकाँही भेट्न आउँथे, उनलाई एक्लै नबस्न सुझाउँथे । तर, उनलाई आफ्नो पति गुमाएको यहि ठाउँ नै प्यारो थियो । बाँचुन्जेल छोड्न मानिनन् ।

हजुरआमाको पनि ९७ बर्षको उमेरमा सन् १९७५ मा निधन भयो । त्यसपछि यो ठाउँ मेरो भयो । उनी गईसकेपछिका बिषम ४० बर्ष यँहा रहेका दुई कुर्सी मध्ये कुनै एकमा बसेर म आफ्नो एक्लो जीवन बिताइरहेको छु ।

निलो कपडाले बेरिएको थोत्रो कुर्सीमा बसेर झ्यालबाट बाहिर हेरिरहन्छु । पर फुङ्ग रङ उडिसकेको ठुलो फार्महाउस देखिन्छ । सधै सुनौला रङका गाई र घोडाहरुले भरिभराउ हुने त्यो ठाँउ आजकाल सुनसान छ । जसरी म एकान्तवासमा एक्लो जीवन बिताईरहेको छु, उसैगरि त्यो फार्महाउस पनि एक्लो छ ।

म बसन्तमा फूल्ने रङ्गिन फूल हेर्छु । फुरुरु बर्सिरहेको हिउँ हेर्छु । टेलिभिजनमा समाचार पनि हेर्छु तर प्रायः आवाज सुन्दिन । झ्याल छेउमा बसेर यि हरफहरु लेखिरहँदा एकान्तवासको सान्त्वना दिदै म आँफ्नै मनसँग झुटो बोल्छु ।

मान्छेहरु मलाई भेट्न आउँन चाहन्छन् । म अस्विकार गर्छु । मलाई मेरो एकान्त नै प्यारो छ । यो एकान्तपन गुमाउँन म तयार छैन । मसँग खुवै मिल्ने मेरा दुईजना पुरुष साथीहरु पनि छन् । उनीहरु न्यु ह्याम्पसरका हुन्, आजकाल म्यानहटनमा बस्छन् ।
हप्ताको दुईरात लिण्डा मेरोमा आउँछिन् । क्यारोल पनि हप्तामा केही घण्टा आउँछिन्, लण्ड्रिको लागि । उनी मेरो औषधीको गोलीहरु गन्छिन् । फेरी कहिले ल्याउनुपर्ने हो, हिसाब गर्छिन् । म उनी आउँने बाटो हेरिरहन्छु । जब उनी निस्किएर जान्छिन्, म आनन्द महसुस गर्छु । मेरो शुन्यता फिर्ता भएकोमा कृतज्ञ हुन्छु ।

म सन् १९२८ मा जन्मेँ । बाआमाको एक्लो सन्तान हुँ । म मात्र होइन, हाम्रो स्प्रिङ ग्लेन इलेमेन्ट्री स्कुलमा आठ कक्षासम्म पढ्ने विद्यार्थी कसैको पनि दाजुभाइ दिदीबहिनी थिएनन् । त्यो आर्थिक मन्दीको समयमा जोडीहरुलाई एउटै सन्तानमा चित्त बुझाउनु पर्ने बाध्यता थियो ।

बच्चा बेलामा मैले एउटा साथी बनाएको थिएँ । तर, साथित्व लामो समय टिक्न भने सकेन । त्यो साथी, चार्ली एलेक्स, काठका टुक्रा र कागजबाट हवाईजहाज बनाउँन मन पराउँथ्यो । उसकै सिको गरेर मैले पनि बनाएँ ।

तर, म विचित्रको थिएँ, कागजको पखेटामा सिमेन्ट हालिदिन्थेँ । उ खुवै रिसाउँथ्यो, झगडा गथ्र्यो । उसँग छुट्टिएपछि मैले हुलाक टिकटहरु संकलन गर्न थालेँ, डिजाइन पनि गरेँ । यो कामबाट पनि मलाई दिक्क लाग्यो ।

सातआठ कक्षातिर पढ्दा केटी साथीहरु पनि बनाएको थिएँ । म अहिले बार्बरा पोपलाई सम्झिरहेको छु । एकदिन उनको ओछ्यानमा कपडा सँगै उनी र म सुतेको पनि याद आईरहेको छ । त्यो दिन जब उनको आमाले हामीलाई ओछ्यानमा देखेर रिसाएर हेरिन्, त्यसपछि भने हामी छुट्टियौँ ।

स्कुलबाट फर्किएपछि घरमा म एक्लै बस्न रुचाउँथे । बैठक कोठाको एउटा कुनामा धुम्धुम्ती बस्थेँ । दिउँसै सपना देख्थेँ । मेरी आमा कि त किनमेलमा निस्किएकी हुन्थिन्, कि त साथीहरुसँग पुल खेल्न जान्थिन् । बुवा चाँही सधै आफ्नो कार्यालयमै व्यस्त हुन्थे ।

एउटा गर्मीयाममा मैले घर छोड्ने निर्णय गरेँ । तर, कता जाने भनेर मेरो दिमागले निर्णय गर्न भने सकिरहेको थिएन । झल्यास्स न्यु ह्याम्पसायर फार्ममा घाँस काटेर बसिरहेका बृद्ध हजुरबुवाको अनुहार याद आयो । एकाएक मलाई ठुलो राहत मिल्यो ।

म हजुरबुवाले बिहान बेलुका गाईको दुध दुहुएको हेरिरहन्थेँ । साना–साना काम सघाईदिन्थेँ । आफ्नो लागि लन्च आँफै बनाउँथेँ । ठुलो ब्रेडमा प्याज काटेर हाल्थेँ । त्यो स्याण्डविच जस्तै हुन्थ्यो । मैले त्यसलाई आफ्नै नाम दिएको थिएँ— बिफोर स्याण्डविच ।

जब म १५ बर्षको भएँ, दुई बर्षे हाइस्कुलको लागि एक्सेटर एकेडेमी गएँ । त्यँहा पढ्नको लागि गाह्रो थियो, बरु हार्वर्डमा पढन् सजिलो थियो ।

त्यहाँ बसेका ति दिनहरु म आजपनि घृणा गर्छु । छात्रवासमा एउटा कोठामा दुईजनाको हिसाबमा पाँच सय केटाहरु बस्थे । यस्तो वातावरणमा मैले खोज्ने एकान्तता कसरी मिल्थ्यो र ! तैपनि म शान्तिसँग बस्न प्रयत्न भने गरिरहन्थे ।
एकान्तको मज्जा लिन चुरोट पिउँदै एक्लै हिड्न निस्किन्थेँ । तर त्यसले कति समय नै बित्थ्यो र ! फेरी त्यहि कोलाहालमा फर्किनु परिहाल्थ्यो । मलाई सिंगल रुमको आवश्यकता थियो, मिलाउँन कोसिस गरिरहेँ । अन्ततः एकदिन कोसिस सार्थक भयो, रुम फेला पारेँ ।

अब म मन लागे जति पढ्न सक्थेँ, लेख्न सक्थेँ । जब शनिबार आउँथ्यो, कोही बास्केट बलको कोर्टमा पुग्थे, कोही फिल्म हेर्न दर्गुथे । म भने कोठामै एकान्तको मज्जा उठाउँथेँ ।

तिन बर्ष सम्म त्यो कोठामा एक्लो थिएँ । भिडभाड थियो त कोठामा राख्न मैले किनेका सामानहरुको मात्र थियो । युनिभर्सिटीमा सिनियर विद्यार्थी भईसकेपछि त मैले सुत्ने कोठा, बस्ने कोठा र वाथरुम समेतको व्यवस्था मिलाएँ । जसले मेरो बसाई व्यवस्थित त भयो नै, सँगसँगै एकान्तवासको मज्जा झन् बढी भयो ।

अक्सफोर्डमा रहँदा सुरुमा नै दुईवटा कोठा दिईएको थियो । हुन त त्यँहा सबै बिद्यार्थीलाई डबल रुम दिईन्थ्यो । अक्सफोर्डमा हुँदा नै मैले फेलोसिप सुरु गरेँ । सँगसँगै एउटा किताब पनि लेखेँ ।

अब मलाई जागिर खोज्नु थियो । त्यतिबेला मैले मेरो पहिलो श्रीमती बिहे गरिसकेको थिएँ । म २० बर्षको थिएँ, उनी २३ बर्षकी थिईन् । हामी एनआर्वरमा सेटल भयौँ । म मिसिगन विश्वविद्यालयमा अँग्रेजी साहित्य पढाउन थालेँ ।

मलाई लेक्चर हलको प्यासेजमा अगाडि पछाडि हिडिरहन मन लाग्थ्यो । कहिले आइसिर कवि एट्स र ज्वयस्को बारेमा गफ गर्थेँ त कहिले थोमस हार्डी र यन्ड्रियु मार्भेलको कविताको कुरा गर्थेँ । ति आनन्ददायी पलमा म विरलै एक्लै हुन्थेँ, तर घर फर्किएपछि भने म सानो कोठामा कविता लेखेर घण्टौँ बिताउँथे ।

मेरी असाध्यै बौद्धिक श्रीमती साहित्यमा भन्दा हिसाबकिताबमा बढी ध्यान दिने थिइन् । हामी सँगै त बस्थ्यौँ तर बेग्लाबेग्लै हुर्किरहेका थियौँ । हाम्रो विचार मिल्दैन थियो । हाम्रो रुची फरकफरक थियो । जमघट, पार्टीहरुमा रमाउने स्वभाव थियो उनको । म भने ठिक विपरित थिएँ ।

मैले जीवनमा एकपटक मात्र सामाजिक भेलामा उपस्थिति जनाएँ । त्यो पनि एनआर्वरको साँस्कृतिक कक्टेल पार्टी थियो । त्यसपछि त म हरेक सप्ताहन्तको पर्खाइमा हुन थालेँ, ताकी त्यसले हाम्रो वैवाहिक जीवनमा दुरी बढाईदियोस् ।

हामीले चाडपर्व परेका त्यस्तै दुईतीन वटा शुक्रबार देखी शनिबार सम्म लगातार पियौँ । बैठक कोठाको वल्लोछेउ र पल्लोछेउ गर्दै पियौँ । होसमा पियौँ, बेहोसीमा पियौँ । फल्ट ग-यौँ, भनाभन ग-यौँ । तर, भोलीपल्ट आइतबार ति सबै कुराहरु बिर्सिदिन्थ्यौँ ।
वैवाहिक जीवनमा आएका आरोह अवरोह पार गर्दै बिहे गरेको १६ बर्षपछि हामीले डिभोर्स ग-यौँ ।

फेरी पाँच बर्ष म एक्लै भएँ । त्यँहा कुनै आनन्दायी एकान्तपना थिएन । म एकान्तता चाहन्थेँ, तर त्यो एकान्तवासमा एक असल श्रीमतीको साथ चाहन्थेँ । म जे चाहन्थे त्यो मैले पाइनँ । मैले ह्विस्कीसँग मेरो खराब वैवाहिक जीवनका पिडा निक्कै साटेँ ।

त्यहिवीचमा एकजना युवती मसँग डेट गर्न आईपुगि । उ दिनकै दुई बोतल भोड्का पिउँथी । त्यो समय म हप्ताकै तिनचार जना आईमाईसँग डेट गर्थे। कहिलेकाँही त दिनकै तीनजनासँग सम्म पनि डेट हुन्थ्यो । मेरो दैनिकी डेटिङमै वितिरहेको थियो ।
यस्तो दैनिकीले मेरो कविता लेख्ने काममा ढिला हुन थाल्यो । अन्ततः लेख्न नै बन्द भयो । तैपनि, म खुशी भएर बस्ने कोसिस गर्थे। तर सक्दिन थिएँ । मलाई लाग्न थाल्यो, अब मैले यस्तो बानी त्याग्नु पर्छ । तत्कालै त्यो पियक्कड युवतीसँग टाढा हुने निधो गरेँ । आफ्नो पढाउने कामतिरै केन्द्रित भएँ ।

जेन केन्यन मेरो विद्यार्थी थिईन् । स्मार्ट थिईन् । कविता पनि लेख्थिन् । कक्षामा उनी जत्तिको स्पष्ट र रमाइली अरु थिएनन् । उनीप्रति म दिनप्रतिदिन आकर्षित हुन थालेँ । उनले थाहा नपाउने गरि उनको बारेमा बुझ्न पछि लागेँ ।

मैले थाहा पाएँ, उनी मेरो घर नजिकैको छात्रावासमा बस्दिरहिछिन् । एकदिन मैले उनीसँग एक घण्टा लामो गफ गरेँ । त्यो रात मेरै घरमा बस्न बोलाएँ । उनी आईन् । हामी ओछ्यानमा गयौँ । स्वतन्त्रतापुर्वक एकअर्कामा समाहित भएर चरम सन्तुष्टिमा लिप्त भयौँ । अबेर रात बेडबाट उठेर सँगै डिनर ग-यौँ ।

त्योबेला हामी हप्ताको एकपटक भेट गथ्र्यौँ । विस्तारै एकबाट दुई, तिन, चार हुँदै हप्ताको सातै दिन भेट गर्न थाल्यौँ । यद्यपी, हामी भिन्नाभिन्नै पार्टनरसँग डेटिङ पनि गरिरहेकै थियौँ । एकरात हामीले विवाह गर्नेबारे कुरा ग-यौँ । तर, त्यो विषय उति नै बेला अन्यत्र मोडियो । किनकी उनको र मेरो उमेरको अन्तर १९ बर्षको थियो । यदि हामीले बिहे गरे, उनले विधवा भएर निक्कै बर्ष बस्नुपर्ने हुनसक्थ्यो ।

तर, प्रेमले कहाँ त्यसरी हिसाब गथ्र्यो र ! हामी गहिरो प्रेममा थियौँ । अन्ततः सन् १९७२ को अप्रिलमा बिहे ग-यौँ । त्यतिबेला म ४४ बर्षको थिएँ, उनी २५ बर्ष कि थिइन् । मेरो यो दोस्रो बिहे थियो, उनको पहिलो । बिहे पश्चात् को तीन बर्ष त्यहाँ बसेर हामी सन् १९७५ मा न्यु ह्याम्पसर आयौँ । उनले यो पुरानो पारिवारिक घरलाई खुव माया गरिन्, रमाइन् ।

लगभग २५ बर्ष, हरेक विहान उनी भन्दा अगाडि म उठ्थेँ । उनलाई बेडमै कफि पु-याईदिन्थेँ । उनी अबेर उठेर कुकुर डुलाउन निस्किन्थिन् । उनी फर्किएपछि हामी बेग्लाबेग्लै रुममा बसेर कविता लेख्थ्यौँ । मध्यान्नतिर हाम्रो लन्च टाईम हुन्थ्यो । लन्चमा हुन्थ्यो स्याण्डविच ।

लन्चपछि केहीबेर एकआपसमा नबोली टहलिन्थ्यौँ । पच्चिस मिनेट जति बेडमा सुस्ताउथ्यौँ पनि । त्यसरी सुस्ताउनुले शरीरलाई दिनभरिको लागि उर्जा मिल्थ्यो । त्यसपछि हाम्रो दैनिक सहवासको समय हुन्थ्यो । एकअर्काको अंगालोमा बेरिन्थ्यौँ । जब उनी चरमोत्कर्ष पुग्थिन्, त्यसपछी भने उनलाई कार्यकक्षमा जान हतारो हुन्थ्यो ।

दिउँसो अबेर हामी कार्यकक्षमा जान्थ्यौँ । वर्डस्वर्थको प्रिलड, हेन्री जेम्सको द एम्बासिडर, द ओल्ड टेस्टामेन्ट, विलियम फाक्नर र उनका सत्तरी दशकका कविताहरु एक घण्टा सम्म ठुलो स्वरमा पढेर म उनलाई सुनाउँथेँ ।

बेलुका भएपछि म वियरको चुस्की लिदै द न्युयोर्करमा आँखा डुलाउँथेँ । उनी वाइनको चुस्कीसँगै डिनर तयार गर्न भान्सा छिर्थिन् । मेहेनत गरेर विभिन्न स्वादिला परिकार बनाउँथिन् । मैनबत्तिको मधुरो उज्यालोमा आमुन्नेसामुन्ने वसेर गफिदै डिनर  ग-थ्यौँ ।

गर्मीयामका मध्यान्नहरुमा हामी समुन्द्रको किनारमा पुग्थ्यौँ । पानीमा डुबुल्की मा-थ्यौँ । उनी बालुवामा घोप्टो परेर घाम ताप्न मन पराउँथिन्, म भने डोरीको कुर्सीमा बसेर किताब पढ्थेँ । कहिलेकाँही त हामी छिट्टै डिनर बोकेर खान किनारमै पुग्थ्यौँ । यस्तै रमाईलो गरेर, सँगै लेखेर, सँगै एकान्तवासको मज्जा उठाएर वैवाहिक जीवनका पच्चिस वसन्त पार ग-यौँ ।

सन् १९९५, अप्रिल २२ का दिन ल्युकेमिया रोगले उनलाई यस धर्तिबाट उठाएर लग्यो । यस संसारमा उनी थोरै दिनको मात्र पाहुना थिइन् । पच्चिस वसन्तको छोटो सहयात्रालाई टुङ्ग्याउँदै उनी मसँग सँधैको लागि विदा भईन् ।

सोचेको थिएँ, धेरै बर्ष उनी विधवा हुनेछिन् । तर, नियतिले सोचे जस्तो कँहा गरिदिन्छ र ! बिदुर हुन त मलाई पो लेखिएको रहेछ !
आज सन् २०१६ को उहि अप्रिल २२ को दिन हो । जेन वितेको पनि ठ्याक्कै एक्काइस बर्ष भयो । मेरो जीवनको यो ८७ औँ बर्षमा, मलाई उनको शोक त्यस्तो परिरहेको छ, जस्तो यो भन्दा पहिले कहिल्यै अनुभव गरेको थिइनँ । उनी थलिएर जीवनका अन्तिम दिनहरु व्यतित गर्दैगर्दा डेढ बर्ष सम्म उनको हात सुम्सुमाउँदै म उनकै छेउमा बसिरहेँ ।

उमेर नै नपुगी भएको उनको देहवसानले मलाई सधै दुःखी बनाईरह्यो । म अहिले कल्पना गर्छु— यदि उनलाई मैले बचाउन सकेको भए, मेरो जीवनको उत्तराद्धको यो घडिमा हरेक पल उनी मेरै साथमा हुने थिइन् सायद ।

बितेको दुई दशक भन्दा बढीको मेरो एक्लो एकान्तवास नै अब मलाई प्रिय छ । सुनसान घरको एक थोत्रो कुर्सीमा बसेर म झ्याल बाहिर हेरिरहन्छु । चरा उडिरहेको देख्छु । आकाश देख्छु, समुन्द्र देख्छु । बगैँचामा फूलिरहेका रङ्गिन फूलहरु हेर्छु । रमाईरहेका पुतली हेर्छु । यसैगरी एकान्तवासमा बसेर म मृत्यु कुरिरहेको छु ।

(विश्वप्रसिद्ध अमेरिकी लेखक डोनाल्ड हलको द न्युयोर्करमा सन् २०१६ अक्टोवर १५ मा प्रकाशित भएको आफ्नो एकान्तवास सम्बन्धि लेखको नेपाली भाषामा अनुवाद भानु दाहालले गरेका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?