इजरायल हमास युद्धको २०० दिन : गाजामा भोकमरी भयावह बन्दै

लोकपथ
325
Shares


काठमाडौं ।
द्वन्द्वले गाजामा भोकमरीको समस्या विकराल हुँदै गएको छ । संयुक्त राष्ट्रसंघले यस्तो जनाएको हो ।
प्यालेस्टाइनको हमास विद्रोही समूहले इजरायलमा आक्रमण गरेपछि जबाफी आक्रमण सुरु भएको थियो ।

इजरायलको जबाफी आक्रमणका कारण अहिलेसम्म गाजामा ३४ हजारभन्दा बढी प्यालेस्टाइनको मृत्यु भइसकेको छ ।
२०२३ को अक्टोबर ७ बाट सुरु भएको युद्ध २ सय दिन पुगेको छ ।

दुवै पक्ष अझै आक्रामक छन् । गाजामा इजरायलको लगातारको आक्रमणका कारण लाइफलाइनहरु अवरुद्ध हुँदा राष्ट्र संघले भोकमरीको अवस्था भयावह बन्दै गएको चेतावनी दिएको हो ।

राष्ट्रसंघले अहिले पनि २३ लाख मानिसहरु दैनिक खानका लागि संघर्ष गरिरहेको बताउँदै यो अवस्था अर्को महिना (मे) देखि झन बढ्ने चेतावनी दिएको छ ।

१७ अप्रिलसम्मको तथ्यांकअनुसार गाजाका अस्पतालहरुमा १२ वर्ष मुनिका २८ बालबालिकाको कुपोषणका कारण मृत्यु भएको छ । जसमा एक महिनाभन्दा कम उमेरका १२ बालबालिका छन् ।

इजरायली आक्रमणमा हालसम्म ३४ हजारभन्दा बढीको मृत्यु हुँदा ७७ हजारभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश अर्थात् १४ हजार ५ सय बालबालिका छन् ।

गाजामा प्रत्येक घण्टामा ६ बालबालिकासहित १५ जनाको मृत्यु भइरहेको छ । गाजाका बालरोग विशेषज्ञ डा. मोन्ट्रेसर फार्राले गाजाका हरेक घरमा कुपोषणको सिकार भएका बालबालिका रहेको बताए ।

अक्सफामका अनुसार गाजाका हजारौं मानिस दैनिक औसत २४५ क्यालोरीमा बाँचिरहेका छन् । तर, एक वयस्क व्यक्तिलाई दैनिक १६०० देखि ३,००० क्यालोरी पोषण भएका खानेकुरा चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?