१४ जेष्ठ २०८०, आईतवार

हाँडीगाउँको गहना खोज्ने जात्रा

२०७९,चैत्र,२४,शुक्रवार १५:१२

297
Shares

काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये किराँत-लिच्छवीकालदेखि सुरु भएको भनिएको काठामाडौंको हाँडीगाउँ (नर:)मा गहना खोज्ने जात्रा (तिसा: मालिगु जात्रा) अरु स्थानमा भन्दा भिन्न छ। यो जात्रालाई  हाँडीगाउँ, टुँडालदेवी(बैष्णवी), गहना खोज्ने जात्रा र भाटभटेनी जात्रा भनेर पनि चिनिन्छ । बैशाख नवमीसम्म मनाइ यो पर्व हरेक वर्ष  चैत्र शुक्ल अष्टमीमा औपचारिक यंसी वा लिङ्गो उठाएर सुरुवात हुन्छ।

बलि दिइएको राँगाको रगतले नुहाएका (पोडे) द्यला: पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवीको गहना खोज्ने जात्रा परम्परा अनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ। जात्रामा टुँडालदेवी (त्वरं: अजिमा ) को मूर्तिलाई खटमा राखेर गहना पोखरी (तिसा: मालिगू पुखु) मा डुबाएर परिक्रमा गराइन्छ। बाइसधारा मेला (ल्हुती पुन्ही) का दिन टुँडालदेवीको जात्रा सुरु हुन्छ। त्यसदिन भाटभटेनी (मपता अजिमा ) को मूर्तिलाई पनि टुँडालदेवी ल्याउने गरिन्छ। भोलिपल्ट प्रतिपदाका दिन गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ।

प्रख्यात किम्बदन्ती अनुसार आमा टुँडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले आफ्नी आमाको एक पोडेसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन्। त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरु उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा अनतर्गत यो जात्रा मनाइन्छ। गहना खोज्ने जात्रा भनिएपनि पोखरीमा गहना भने हुँदैन । किम्बदन्तीअनुसार टुँडालदेवी, गहना खोज्न पोखरीमा गएकाले उक्त पोखरीको नाम गहनापोखरी रहन गएको हो। त्यसैले टुँडालदेवीको गहना खोज्न रथलाई पोखरीभित्र लैजाने र महालक्ष्मीको रथ पोखरी बाहिर राखेर यो जात्रा मनाउने गरिन्छ। पोखरीमा टुँडालदेवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ त्यस क्रममा पोखरीबाहिर टुँडालदेवीकी बहिनी महालक्ष्मी (नक्साल भगवती ) को खटलाई पनि परिक्रमा गराइन्छ । टुँडालदेवीको खटलाई हडिगाउँको सबैभन्दा पुरानो दबलीमा थप दुई दिन राखेर हराएको गहना फेला परेको जनाउ सहित नुवाकोट र मनमैजुका देवीलाई प्रसाद र फूल पठाइन्छ ।

अर्को स्थानिय जनश्रुति अनुसार गहनापोखरीमा टुँडालदेवी र उनकी तीन बहिनीहरु महालक्ष्मी, मनमैजु र नुवाकोटदेवी पौडी खेल्ने क्रममा टुँडालदेवीले गहना हराएकी थिइन् । अँध्यारो हुन थालेको र घर टाढा भएकाले नुवाकोटदेवी र मनमैजु आ–आफ्नो घर गए भने दिदी टुँडालदेवी गहना खोज्दै बसिन् र घर नजिकै भएकी बहिनी नक्सालकी महालक्ष्मीले उनलाई गहना खोज्न सघाइन र गहन भेटिएपछि दुवै दिदीबहिनी घर फर्किए ।

त्यस्तै अर्को स्थानीय कथन अनुसार हाँडीगाउँमा रहेको कैशालकूट भवनमा तोला महारानी भन्ने रानी थिइन्। निकै दयालु र धर्मात्मा तोला महारानी उक्त पोखरीमा पातमा बसेर स्नान गर्न सक्षम थिइन्। आफ्ना प्रजाले  गहना लगाएर हिंडेको देखेर उनको मनमा गहनाको लोभ जाग्यो। । त्यसपछि उनले जनतामाथि कर लगाउने निर्णय गरिन्। शालिन तोला महारानीको शान लोभले खुम्चियो। पातमा बसेर स्नान गर्नसक्ने क्षमता भएकी उनी पातबाट लड्बडाउँदै खसिन्। जनतामाथि आफूले कर लगाएर अन्याय गरेको उनले बुझिन् र पश्चाताप स्वरुप दरबार क्षेत्रमा रहेको पोखरीमा जनताका लागि गहना खोज्ने जात्रा संचालन गरेको स्थानीयको कथन छ।

पुरातत्वविद्हरूका अनुसार  किराँत–लिच्छविकालमा काठमाडौँको राजधानी हाँडीगाउँ थियो। कैलाशकुट दरबारबाट सातौँ शताब्दीमा जारी गरिएको शीलालेखमा ‘अन्डिपीजात्रायाम’ भनेर लेखिएको छ। उक्त शीलालेखमा यो जात्रालाई दरबारले वार्षिक एक हजार पण (तत्कालीन समयको मुद्रा), २२ घडा, बिजोर गहना र लत्ताकपडा दिनुपर्ने उल्लेख छ। सन् १९८८ मा इटालियन पुरातत्वविद्ले हाँडीगाउँको सत्यनारायणमा उत्खनन गर्दा  ढुंगेधाराको टुटीमा ‘ओम अन्डिग्रामे..’ लेखेको भेटिएको थियो । यसबाट त्यो ठाउँको मौलिक नाम अन्डिग्राम भएको प्रस्ट हुन्छ। किराँतकालमा चाहिँ अन्डिप्रिङ थियो। लिच्छवि आएपछि ठाउँको नाम परिवर्तन गरेर ग्राम र नगर बनाइयो। अन्डी पछि अपभ्रंश हुँदै हाँडी बन्यो, ग्रामचाहिँ गाउँ। कैलाशकुटको शीलालेखबाट यहाँ पहिलेबाटै जात्रा चलिरहेको प्रष्ट हुन्छ। अहिलेको गहना खोज्ने जात्रा त्यही ‘अन्डिप्रिङ’ भएको तर्क गरिन्छ।

प्रख्यात उखान ‘कहीं नभएको जात्रा, हाँडीगाउँमा’ भनेर उल्लेख भए अनुसारको जात्रा वास्तवमा गहना खोज्ने जात्रा होइन। ‘कहीँ नभएको जात्रा, हाँडीगाउँको’ भनेर चिनिने जात्रा – “सत्यनारायण जात्रा” दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइन्छ।

प्रकाशित मिति: २०७९,चैत्र,२४,शुक्रवार १५:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११