महोत्तरी । जारी लकडाउनका बेला वन क्षेत्रमा तस्करहरुको घुसपैठ बढ्न थालेपछि महोत्तरीका सामुदायिक वन उपभोक्ता संयुक्तरूपमा सङ्गठित खबरदारी शुरु गरेका छन् ।
जिल्लामा डिभिजन वन कार्यालय महोत्तरीमातहतका सवडिभिजन कार्यालय क्षेत्रभित्रका सामुदायिक वन उपभोक्ता समितिले संयुक्तरूपमा सङ्गठित खबरदारी शुरु गरेका हुन् ।
अभियानको थालनी बर्दिवास सवडिभिजन कार्यालयमातहतका ११ सामुदायिक वन उपभोक्ता समितिले बिहीवार संयुक्त संयन्त्र नै गठन गरेर तस्करविरुद्ध सङ्गठित खबरदारी शुरु गरिएको गठित संयन्त्रका संयोजक चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए।
“अहिले लकडाउनका बेला वन क्षेत्रमा तस्करको चुरीफुरी बढेको छ”, बर्दिवास नगरपालिका–३ कालापानी वन क्षेत्रमा भेलापछि भेटिएको न्यौपानेले भने, “अब कार्यालयका वनसम्बद्ध कर्मचारी र सामुदायिक वन उपभोक्ता समितिले मात्र चोरी कटान र अन्य वन सम्पदाको हानीनोक्सानी रोक्न सक्दैनन्, त्यसैले तस्करलाई वनबाट धपाउन र पस्न नदिन नयाँ अभियान थालेका हौँ ।”
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख र अन्य अधिकृतसमेत सहभागी बर्दिवास सवडिभिजनमातहतका ११ सामुदायिक वन उपभोक्ता समितिबाट प्रतिनिधित्व गराइएर संयुक्त वन सुरक्षा समन्वय समिति गठन गरिएको जनाइएको छ ।
यस संयन्त्रको सहसंयोजक रातु महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मीना श्रेष्ठ छानिएकी छन् ।
वनमा दैनिकजसो चोरी शिकार र रुख कटान गर्नेहरुले सर्वसाधारणलाई धम्क्याउने र त्रास देखाउनेसम्मका हर्कत बढाएपछि संयुक्त संयन्त्रको आवश्यकता महसुस गरिएको संयुक्त भेलामा सहभागी सबै उपभोक्ता समितिका प्रतिनिधिको साझा भनाइ छ ।
“हामी त निहत्था छौँ, तस्कर र वनभित्र जग्गा कब्जा गरेर धाक देखाउनेहरु तिमीहरुलाई ठेकान लगाइदिन्छौँ भन्छन्”, झण्डै पाँच हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको नेवारडाँडा कामीडाँडा सामुदायिक वन क्षेत्रको उपभोक्ता समितिका अध्यक्ष ललित बुढाथोकीले भने, “डिभिजन वन कार्यालय, जिल्लास्थित प्रशासनिक कार्यालय र सुरक्षा निकायले वनसँगै हाम्रो सुरक्षाको प्रत्याभूति दिन प¥यो, हामी रुख अँगालेर सुरक्षा गर्न तयार छौँ ।”
अहिले बर्दिवास सवडिभिजन कार्यालयमातहतका सामुदायिक वन उपभोक्ता समितिले वन सुरक्षा र वन सम्पदाको प्रवद्र्धन गर्न शुरु गरेका संयुक्त संयन्त्र गठनको कामलाई जिल्लाका अन्य सवडिभिजन कार्यालय क्षेत्रमा पनि विस्तार गरिने डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।
“जिल्लाका छ सवडिभिजन कार्यालयमध्ये सघन वन क्षेत्रभित्रै रहेका चारमा तत्काल संयुक्त संयन्त्र गठनको कामलाई उत्प्रेरित गरिने छ”, डिभिजन प्रमुख हेमन्तप्रसाद साहले भने, “यसलाई अभियानकै रूपमा पाँच दिनभित्र सम्पन्न गरिने छ ।” जिल्लाका पूर्वपश्चिम राजमार्गसँगै जोडिएका गणन्ता, टुटेश्वर र बाँके सवडिभिजन कार्यालयमातहतमा बर्दिवास सवडिभिजन क्षेत्रमा जस्तै संयन्त्र बनाइने साहको भनाइ छ ।
जिल्लाका औरही र जलेश्वरनाथ सवडिभिजन कार्यालयका क्षेत्र भने सघन वन क्षेत्र बाहिर भएकाले यिनमा संयन्त्र गठनबारे अहिले विचार नगरिएको कार्यालयले स्पष्ट पारेको छ ।
जिल्लाका पूर्वपश्चिम राजमार्ग दायाँबायाँका वन क्षेत्रमा लकडाउन घोषणासँगै तस्करहरुको चहलपहल बढेको हो । यसअवधिमै वन सुरक्षा गस्तीले ३०० क्यूविक फिट (घनफिट) सालका चोरी कटान गरेर लुकाइ राखेका काठ बरामद गरेको छ ।
सामुदायिक वन उपभोक्ताहरुले देखाएको नयाँ उत्साहले वन सुरक्षामा थप उत्साह र बल दिने डिभिजन वन कार्यालयको ठम्याइ छ ।
जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक र सागरनाथ वन विकास परियोजनाको समेत २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको कार्यालयले बताउँदै आएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया