जनयुद्ध दिवस विशेष कविता

जनयुद्ध दिवस जिन्दाबाद।।

महान शहीदहरु लाल सलाम।।

 

यी नाराहरु

आफैंमा महान छन

तर विडम्बना !

अब कस्ले बोल्ने भन्ने कुरा

निकै गम्भीर रुपमा देखा पर्यो

लालहरुले वा दलालहरुले

विद्रोही चेतले या सत्ताले

किसानले या विचौलियाले

घाइतेहरुले या चैतेहरुले

टुहुराहरुले या ब्वाँसाहरुले

बेपत्ता परिवारले या खिचडी एकताले

भूमीहिनहरुले या भू-माफियाहरुले

भुइँ मान्छेले या नव-सामन्तहरुले

यी प्रश्नहरूले

प्रश्न गरि रहेछन यतिबेला

फाल्गुन १ सम्झिदै ।

हो ‘जनयुद्ध’ दिवस

भुइँ मान्छेहरुले मनाउँदैछन

निरन्तरताको पृष्ठभूमि जोड्दै

नयाँ उज्यालोको खोजिमा ।

 

र ‘जनयुद्ध’ दिवस

तिनीहरुले पनि मनाउदै छन

आर्यघाट्मा अन्त्यष्टिको सम्झना गर्दै

महान बलिदानको श्रद्धा गर्न नसकी

संकल्पको घाँटी निमोठेर

फगत एक

कर्मकाण्डिय श्राद्धको रुपमा ।

 

यतिबेला प्रष्ट रुपमा

दुई दृश्यहरु देख्न सकिन्छ ।

यता राजधानीमा

रातो कार्पेट विछ्याएर

दलालहरु कुर्लिरहेछन

महान ‘जनयुद्ध’ जिन्दाबाद

जनयुद्धको जगमा बनेका

आलिसान महल – जिन्दावाद

नितिगत भ्रष्टाचार – जिन्दाबाद

कस्मेटिक जीवन शैली -जिन्दावाद

नातावाद, फरियाबाद – जिन्दावाद

विदेशी चाकडीवाद – जिन्दावाद

सम्पूर्ण कमाउनिष्टहरु एक होऊँ ।

उता घर-गाउँ तिर

अनि शहर बजारका

गल्ली र चोकहरुमा

भुइँ मान्छेहरु

 

रातो कफन बाँधेर जुटिरहेछन

निरन्तर खवर्दारी गरिरहेछन

गरिब मारा – मुर्दाबाद

राष्ट्रघातीहरु -मुर्दावाद

बलिदानको अबमूल्यन गर्नेहरु – मुर्दाबाद

माओवादलाई खाओवाद बनाउनेहरु-मुर्दावाद

दलालहरु होसियार

विद्रोह निरन्तर जारी छ

महान जनयुद्ध दिवस  जिन्दावाद ।

यी दुई दृश्यहरुलाई उधृत गर्दै

ठीक यतिबेला

समयले प्रश्न तेर्साइ रहेछ ।

तिमीले आफ्नो तयारी

कसरी गर्दैछौ रु

आफ्नै घाँटी निमोठेर

वाध्यताको बाहनामा आँफैलाई ढाँटेर

राजधानीमा भव्य रुपमा आयोजित

रातो कार्पेट टेक्न जाँदैछौ !

या

निरन्तरताको एउटा झिल्को बालेर

भुइँ मान्छेहरुको साथमा

आफूलाई उभ्याउँदै छौ।।

– खेम आचार्य (चितवन)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?