विश्वलाई चकित पार्ने ‘हाइ प्रोफाइल’सँग जोडिएका यौन दुव्र्यवहारका यी घटना

काठमाडौं । सन् २०१७ मा भारतको उत्तर प्रदेशका सांसद तथा भाजपाका नेता कुलदिप सिंह सेंगरमाथि एक किशोरीले बलात्कारको आरोप लगाइन् । पुलिस रिपोर्ट गर्न थानामा पुग्दा किशोरी र उनका परिवारलाई रिपोर्ट फाइल नगरी घर पठाइयो । यो क्रम केही महिनासम्म चलिरह्यो । घटनाको छानविन गर्नुको सट्टा युवतीका बुबालाई नेतामाथि गलत आरोप लगाएको भन्दै प्रहरीले आफ्नो हिरासतमा लियो । किटानी जाहेरी दिँदासमेत अभियुक्तको विरुद्धमा उजुरी दर्ता नगरेपछि यस कुराको चौतर्फी विरोध हुन थाल्यो । भारतमा यस घटनाले निकै भयानक रुप लियो । ‘अपराधीलाई राजनीतिक संरक्षण दिन बन्द गर’ भन्ने जस्ता नाराले कैयन् दिन सडक तात्यो । शक्ति र सत्ताको चरम् दुरुपयोग भन्दै जनताहरु जुर्मुराए ।

केही महिनापछि मुद्दा दायर भएतापनि अदालतको कामकारवाही निष्पक्ष तरिकाले अघि नबढेपछि पीडित युवतीले उत्तर प्रदेशको राजधानी लकनऊ पुगेर खुल्ला सडकमा ‘आत्मदाह’ गर्ने कोसिस गर्दै आफूमाथि मट्टितेलसमेत खन्याइन् । त्यसको भोलिपल्ट पुलिस हिरासतमा भएका युवतीका बाबुको शंकास्पद मृत्यु भयो । पेटमा समस्या भएको भन्दै अस्पताल भर्ना गरिएका पीडितका बाबुको अस्पतालमै मृत्यु भएको थियो । तर, सामाजिक सञ्जालमा ‘भाइरल’ भएका चोटपटक र घाउले भरिएको उनको शरीरको तस्वीरहरुले भने अर्कै ‘सत्य’ बोलिरहेका थिए ।

सन् २०१९, जुलाईमा घटनामा फेरि एउटा ‘ट्वीस्ट’ थपियो जब युवती, उनका वकिल र दुई आफन्त सवार गाडीको दुर्घटना भयो । ट्रकसँग ठोकिएर भएको उक्त दुर्घटना ‘नियोजित’ भएको आशंका गरिएपनि उत्तर प्रदेशका पुलिस चिफ ओपी सिंहले ट्रकको तीव्र गतिलाई दुर्घटनाको मुख्य कारक ठहर गरेका छन् । दुर्घटनामा पीडित युवती बाँच्न सफल भएपनि दुर्भाग्यवश उनका दुई आफन्तको मृत्यु भयो र उनका वकिल गम्भीर घाइते भए ।

यसैबीचमा कुलदिप सिंह पक्षका व्यक्तिहरुले कहिले घरमै पुगेर ज्यानको धम्की दिने, मानसिक र शारीरिक यातना दिने हर्कत बारबार गरेको पीडित पक्षले आफ्नो बयानमा भनेका छन् ।

पीडित युवतीका अनुसार घटना सन् २०१७, जुनमा भएको थियो जब जागिरका लागि अन्तर्वार्ता दिन उनी सिंहको घरमा पुगेकी थिइन् । आफूलाई कोठामा थुनेर बलात्कार गरेको र बलात्कार गरिसकेपछि आँसु पुछिदिँदै सिंहले ‘चिन्ता नगर म तिमीलाई जागिर दिन्छु’ भनेको उनले बयानमा भनेकी छिन् ।

संसारकै ध्यानाकर्षण गरेको यस ‘बलात्कार’ घटनाको अझै पनि टुङ्गो लागेको छैन । अभियुक्त सिंहले बारबार आफू निर्दोष भएको दाबी गरेकाले मुद्दा अझैसम्म तन्किरहेको छ ।

बलात्कार वा यौन दुव्र्यवहारको घटनामा ‘हाई प्रोफाइल’का व्यक्तिको संलग्नता भएको दाबी गरिएको यो एक मात्र घटना भने होइन । विश्वकै ध्यानाकर्षण गरेका यस्ता केही घटनाहरु छन् जसले तपाईलाई अर्को एकपटक सोच्न बाध्य तुल्याउँछ ।

बिल क्लिन्टन : अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनलाई ४ जना महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए । जुआनिता ब्रोडरिकले सन् १९७८ मा क्लिन्टनले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् भने लेस्ली मिल्वी, पाउला जोन्स र क्याथ्लिन विल्लीले क्रमश सन् १९८०, १९९१ र १९९३ मा क्लिन्टनले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए । क्लिन्टनले सबै आरोपहरु झुटो भएको र निर्वाचनताका आफूलाई फसाउन विपक्षीले यस्तो जाल थापेको बताएपनि उनी बारबार यस्ता आरोपहरुको शिकार हुनुपरेको थियो । आफूभन्दा आधा उमेर कान्छी ‘ह्वाइट हाउस इन्टर्न’ मोनिका लेविन्सकीसँग अनैतिक सम्बन्ध राखेको विषयमा पनि उनले थुप्रो आलोचना झेलेका थिए ।

डोनाल्ड ट्रम्प : अमेरिकी राष्ट्रपति डोनाक्ड ट्रम्पविरुद्ध सन् १९८० को दशक यता मात्र २२ जना महिलाले यौन दुव्र्यवहार, बलात्कारको आरोप लगाइसकेका छन् ।
त्यस्तै सन् २०१६ मा राष्ट्रपति निर्वाचनको तयारी चलिरहँदा उनको एक अडियो बाहिरिएको थियो जसमा उनले ‘मजस्तो सेलिब्रेटीले महिलाहरुलाई जे पनि गर्न सक्छ, जहिले मन लाग्यो चुम्बन गर्न, उनीहरुको अङ्ग समात्न सक्छ’ भनेका छन् । आफ्नो बचाऊ गर्न उनले त्यस अडियोलाई ‘प्राइभेट गफ’ भएको बताएका थिए र त्यहाँ प्रयोग भएको अश्लील शब्दहरुका लागि पछि माफी पनि मागेका थिए ।
त्यस्तै मिस यूएसए, मिस टिनका प्रतियोगीहरुले ‘चेन्जिङ रुम’मा अनुमतिविना नै छिर्ने गरेको आरोप लगाएपछि पनि ट्रम्प निकै ठूलो विवादमा मुछिएका थिए । त्यसताका ट्रम्प ‘मिस यूनिभर्स फ्रान्चाइज’का मालिक थिए ।

आन हि जुङ : गएको वर्ष ‘मि टु मुभ्मेन्ट’ले व्यापकता पाएपछि दक्षिण कोरियामा निकै हाइ प्रोफाइल व्यक्तिहरुले यौन दुव्र्यवहार गरेको तथ्य बाहिरिएको थियो जसमध्ये एक थिए आन हि जुङ, दक्षिण कोरियाका प्रान्तीय गभर्नर र राष्ट्रपति मुन जे इननिकट व्यक्तित्व । उनलाई आफ्नै सहयोगी महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो जसका लागि उनलाई साढे तीन वर्षको जेल सजाय घोषणा गरिएको थियो ।

माइकल फ्यालन : बेलायतको रक्षा मन्त्रालयका सचिव माइकल फ्यालनले सन् २०१७ मा महिलाप्रतिको उनको व्यवहार उचित नभएकाले राजिनामा दिनुपरेको थियो । एक महिला पत्रकारले सन् २००२ मा डिनर गर्दैगर्दा फ्यालनले बारम्बार आफ्नो घुँडामा हात राखेको भन्दै बताएकी थिइन् । त्यस्तै, सन् २००३ मा अर्की महिला पत्रकारले फ्यालनमाथि आफ्नो अनुमतिविना चुम्बन गर्न खोजेको आरोप लगाएकी थिइन् ।

***

नेपालकै कुरा गर्ने हो भनेपनि विभिन्न ‘हाइ प्रोफाइल’ व्यक्तिहरु यस्ता मुद्दामा मिसिएको उदाहरण प्रशस्तै छन् । जसमध्ये हालै सभामुख कृष्ण बहादुर महरालाई संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी छिन् । महराले छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका छन् । तर घटनाको २४ घण्टा पनि नबित्दै नयाँ ट्वीस्ट आयो । महिलाले महरा आफ्नो बाबुसरह भएको भन्दै यो हर्कत उनले नगरेको बताएपछि घटना थप रहस्यमय बन्दै गएको छ ।

यस्ता ‘हाइ प्रोफाइल’ केसहरुमा निष्पक्ष निर्णय सुनाइएको घटना विरलै छन् । अधिकांश घटनामा राजनीतिक रङ्ग दलिन्छ जसकारण पीडितले न्याय पाउनु एकादेशको कथा जस्तै बन्न थालेको छ ।

अझ कतिपय घटनाहरु त गुपचुप रुपमा नै सल्ट्याइन्छ । पैसा र पावरको भरमा घटना साम्य पारिएका उदाहरण पनि प्रशस्तै छन् । आफ्नो दुनो सोझ्याउन नपाएपछि मलाई फलानाले बलात्कार ग-यो भन्ने र पछि केही रकमको ‘डिल’ गरेर कहाँ त्यसो हुनु भन्दै चोखिनेहरुका कारण वास्तविक पीडितहरुको बोल्ने ठाउँ साँघुरिएको छ । पीडितहरुको आवाज बुलन्द गरिदिने निकायहरु झस्किएका छन् । अधिकारका लागि एकजुट हुन आह्वान गर्नेहरु हच्किएका छन् । जुर्मुराएर उठ्ने युवाहरु पनि यो कुन रमिता हो फेरि भन्दै तर्कन थालेका छन् । यस्ता घटनाले कतै अस्ली ‘पीडित’हरु त अन्यायमा परेका छैनन् ?

लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)

सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन् ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’

बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ !  (विज्ञप्तिसहित)

महरा प्रकरण : प्रचण्डले बोलाए आकस्मिक बैठक ! 

अन्तत : महराले भने – छानबिनमा सहयोग गर्छु 

विवादै विवादले जेलिएको महराको विगत

राजीनामा दिन सभामुख महरालाई प्रधानमन्त्रीको निर्देशन, सम्भवतः आजै ! 

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

महरा प्रकरणमा गगन थापाले यसो भने 

महरा प्रकरण : नेकपा सचिवालय बैठकले गर्यो यस्तो निर्णय !

महराको विवादमा नयाँ ट्वीस्ट, ममाथि बलात्कार भएको छैन, त्यो पत्रकार मेरो घरसम्म कसरी आइपुग्यो ?

महराको राजनीतिक भविष्य नै अन्योलमा

महराको अभिव्यक्तिले राजीनामा अन्योलनमा, के गर्ला माओवादीले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?