बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ ! (विज्ञप्तिसहित)

काठमाडौं– बलात्कार जस्तो गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराको सचिवालयले खण्डन गरेको छ । महराले संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार गरेको भन्दै अनलाइनहरुले सनसनीपूर्ण समाचार प्रकाशित गरेपछि यसबारे सामाजिक सञ्जालमा तीब्र टिकाटिप्पणी भइरहेको छ।

‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’ सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले जारी गरेको खण्डन विज्ञप्तिमा भनिएको छ ।

‘समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन’ विज्ञञप्तिमा अगाडि भनिएको छ, ‘ हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।’

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा सभामुखले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको विज्ञद्दप्तिमा उल्लेख गरिएको छ । सोही असन्तुष्टिलाई लिएर सभामुखको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह गराइएको दाबी गरिएको छ ।

यो प्रकरणबाट सभामुखको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको भन्दै यसबारे भ्रममा नपर्न सबैसँग अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?