विवादै विवादले जेलिएको महराको विगत

काठमाडौं–सामाजिक सञ्जाल होस् या चिया पसले अहिले सभामुख कृष्णबहादुर महराको विवादलाई लिएर टिकाटिप्पणी सुरु भएको छ। सामान्यतयाः सामान्य हैसियतका नागरिकलाई यत्तिको आरोप लागेको खण्डमा तत्कालै प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरु गर्छ । तर महराको हकमा भने प्रहरीले सामान्य प्रतिक्रिया दिन समेत आनाकानी गरिरहेको छ।
यतिसम्मकी प्रहरीले यसबारे आफूलाई कुनै जानकारी नरहेको भनि तकिएरहेको छ ।
सभामुख जस्तो सम्मानित ओहदामा बसेका व्यक्तिमाथि गम्भीर आरोप लागिसकेपछि यो विषयको कसरी टुंगो लाग्छ त्यो त आगामी दिनमा प्रष्ट हुनेनै छ तर महराकै सन्दर्भमा कुरा गर्दा यो विवाद पहिलो भने होइन ।
सुरुमा पछिल्लो विवादबारे चर्चा गरौंः
महरालाई संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । आफ्नै कोठामा गएर मदिराको सुरुमा आफूलाई बलात्कार गरेको महिलाको दाबी छ।
उनीसँग महराको पहिलेदेखिनै निकट सम्बन्ध रहेको बताइएको छ । यसबारे केही अनलाइनहरुले सनसनीपूर्ण समाचार प्रकाशित गरेपछि यसबारे सामाजिक सञ्जालमा तीब्र टिकाटिप्पणी भइरहेको छ। यसबारे सभामुख महराले भने समाचार र आरोप भ्रामक भएको भन्दै खण्डन गरेका छन् ।

‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’ सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले जारी गरेको खण्डन विज्ञप्तिमा भनिएको छ ।

‘समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन’ विज्ञञप्तिमा अगाडि भनिएको छ, ‘ हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।’

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा सभामुखले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको विज्ञद्दप्तिमा उल्लेख गरिएको छ । सोही असन्तुष्टिलाई लिएर सभामुखको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह गराइएको दाबी गरिएको छ ।
हुन त सत्ताकै वरिपरी बस्न रुचाउने भनेर समेत आलोचित महरा यसअघि पनि आधा दर्जन बढी विवादमा फसिसकेका व्यक्ति हुन् । बाहिर भद्र व्यक्तिको पहिचान बनाएको भएपनि उनको विवाद भने गर्माउने खालको रहेको छ ।

कृष्णबहादुर महरा जतिबेला सञ्चारमन्त्री थिए, ठीक त्यहीबेला नेपालमा सबैभन्दा धेरै फ्रिक्वेन्सीको ‘प्लटिङ’ भयो । ०६२–६३ को जनआन्दोलन सफल भएसँगै गठन भएको सरकारका सञ्चारमन्त्री रहेका महराले त्यतिबेला पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह र व्यवसायी अजेयराज सुमार्गीसँग मिलेर प्रिक्वेन्सी ‘प्लटिङ’ गरेका थिए ।

महरा सञ्चारमन्त्री हुँदा २०६४ फागुनमा नेपाल स्याटेलाइट टेलिकमले अनुमति पाएको थियो । भलै हालै सुर्मागीले पाएको फ्रिक्र्योन्सी हालै रद्द भएको छ ।

५० करोडको टेप काण्ड पनि महराको विवादको अर्को पाटो हो । २०६७ भदौ १८ गते उनले चिनियाँसँग पैसाको डिल गरेको अडियोमा बाहिर आएको थियो ।
तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा र एक चिनियाँ व्यापारीबीच गम्भीर खालको संवाद भएको अहिले पनि युट्युबमा सुन्न पाइन्छ ।
२०७३ सालमा अर्थमन्त्री हुनुअघि नेता महराले अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनलाई १३ पाने फारम भराएर अनुसन्धान सुरु गरेको थियो । तर, अकुत सम्पत्तिमा छानविन भइरहेका बेला उपप्रधान तथा अर्थमन्त्रीको झण्डा उपहार पाउँदा विवाद आउने कुरा स्वभाविक नै थियो ।

अर्थमन्त्री भएपछि रोल्पा जिल्लामा करोडौं रकमान्तर गरेके भन्दै अख्तियारले उनीमाथि छानविन गरेको थियो । आफ्नो निर्वाचन क्षेत्रमा खुद्रे आयोजना खडा गरेर ६६ करोड रुपियाँभन्दा बढी गैरबजेटरी रकमान्तर गरेको भन्दै आयोगका तत्कालीन कार्यवाहक आयुक्त दीप बस्न्यातले महरालाई नछाड्ने अभिव्यक्ति दिएका थिए ।

लडाकुको नाममा बुझेको करोडौं बेरुजुमा पनि हराकै संलग्नता रहेको बताइन्छ । २०७३ भदौ ३१ गते साँझपख अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी गराउन पत्रकार सम्मेलन गरेको थियो ।

पत्रकार सम्मेलनमा उपस्थित तत्कालीन अख्तियार प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई ३० दिनभित्र उपस्थित हुनेगरी पत्राचार गरिएको जानकारी दिएका थिए ।

शान्ति प्रक्रिया सुरु भएसँगै क्यान्टोनमेन्टमा केन्द्रित गरिएका माओवादी लडाकुहरूको भरणपोषणका लागि सरकारले उपलब्ध गराएको रकम माओवादी नेता महराले बुझ्ने गरेका थिए ।

शान्ति प्रक्रियाको पहिलो वर्ष महालेखा परीक्षकको कार्यालयले ४६ करोड १० लाखको बेरुजु देखाएको थियो । जुन त्यस वर्ष भएको खर्चको ९२ प्रतिशत थियो ।

शान्ति सम्भौता भएदेखि चैतसम्म लडाकुको नाममा महराले बुझेको रकमको हिसाब अहिलेसम्म सार्वजनिक भएको छैन । यसबारे पार्टीभित्र र बाहिर पटक–पटक कुरा उठ्न थालेपछि महरा विवादमा तानिएका थिए ।
यस्तै छोरा निर्मल महराको एनजीओमा चिनियाँ लगानीको विषयमा पनि महरा विवादमा तानिएका थिए ।

लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

‘सभामुख महराले पहिले पनि बलात्कारको प्रयास गरेका थिए’ : पीडित महिला (भिडियो सहित)

सभामुख महरामाथि बलात्कारको आरोप, महिला भन्छिन् ‘रक्सि पिएर आएका थिए, जबर्जस्ती करणी गरे’

बलात्कार आरोपबारे महराको सचिवालय बोल्योः चस्मा महरासँगै छ !  (विज्ञप्तिसहित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?