काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमणको उपचार चुनौतीपूर्ण बनाउनुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै गएको बताएकी छन् ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ का अवसरमा शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले एन्टिमाइक्रोबियल औषधिको अव्यवस्थित प्रयोगले औषधिको प्रभावकारिता घटाउने र उपचार खर्च बढाउने बताइन् ।
उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन तथा स्वास्थ्य, कृषि र पशुपन्छी क्षेत्रबीच समन्वय हुनुपर्ने बताइन् । एएमआर कुनै एक क्षेत्रको मात्र समस्या नभई मानव, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती भएको उनले उल्लेख गरिन् ।
कार्यक्रममा मन्त्री मेहताले ‘नेपालका अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण’ दस्तावेज सार्वजनिक गरिन् ।
उक्त सर्वेक्षणले अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोग र चिकित्सकीय सिफारिससम्बन्धी अभ्यासबारे व्यवस्थित तथ्याङ्क उपलब्ध गराउने अपेक्षा गरिएको छ । यसले अस्पतालमा औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन गर्नुका साथै प्रमाणमा आधारित नीति निर्माणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि औषधिको प्रयोगमा नियामकीय निगरानी कडा बनाउनुपर्ने बताइन् । साथै खोपको प्रयोग, सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सुरक्षित खानेपानी, सरसफाइ एवं स्वच्छताका अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन् ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान : प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया