काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ भएको खेलमा सुदूरपश्चिमले चितवनलाई ३ विकेटले पराजित गरेको हो ।
निर्धारित २० ओभरमा १९ ओभर ५ बलको क्षतिमा सुदूरपश्चिमले जित हात पारेको हो । १ बल बाँकी रहँदा सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले चौका प्रहार गर्दै १३६ रन पुर्याएका थिए । उनले खेल अवधिभर ४२ बल खर्चिएर ५३ रन जोड्न सफल भएका थिए । उनले ४२ बल खेल्दै ७ चौका प्रहार गरे । थरिन्द्रले विजयी चौका प्रहार गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले ९ विकेटको क्षतिमा १३३ रन बनाउन सफल भएको थियो । १३४ रनको टार्गेट पाएको सुदूरपश्चिमले रोमाञ्चक जित निकाल्दै फाइनल खेल्ने ढोका खोलेको हो ।
शनिबार हुने फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग सुदूरपश्चिम भिड्नेछ । यहाँ रोचक त के छ भने सुदूरपश्चिम एनपीएलको दुवै सिजनमा फाइनलमा पराजित बन्न पुगेको थियो । पहिलो सिजनमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो सिजनमा लुम्बिनीसँग पराजित बन्यो ।
अबको खेलमा भने साविक विजेता लुम्बिनीलाई हराउँदै विजेता बन्ने वा हारमा ह्याट्रिक गर्नेछ त्यो भने हेर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया