काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी ५३ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा दोषी ठहर भएका एक व्यापारी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तवलाई पक्राउ गरेको हो ।
सीआईबीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा बुधबार वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट श्रीवास्तवलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार श्रीवास्तवले विभिन्न पाँचवटा व्यापारिक फर्ममार्फत झुट्टा तथा नक्कली भ्याट बिजक जारी गरी राजस्व छली गरेका थिए । सोही अभियोगमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो ।
राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्यसहितको प्रतिवेदनका आधारमा दायर भएको मुद्दामा अदालतले २०८१ वैशाख २४ गते उक्त फैसला गरेको थियो ।
श्रीवास्तवले सङ्ग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयङ्क इन्टरप्राइजेज, शुभ लक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनल गरी पाँचवटा कम्पनीको प्रोप्राइटरका रूपमा नक्कली बिजकमार्फत कारोबार गरेको प्रहरीको भनाइ छ ।
अदालतबाट दोषी ठहर भएपछि पनि सजाय भुक्तान नगरी फरार रहेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले श्रीवास्तवलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया