सरकारलाई टिमुरेका बाढीपीडितको प्रश्न– कहिलेसम्म टेन्टमै बस्ने हो ?

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

लोकपथ
0
Shares

रसुवा । गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित भएका रसुवाको टिमुरेका बाढीपीडित आफ्नै गाउँ फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।

विस्थापित ६८ घरधुरीमध्ये ४८ जना यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित भाडाको कोठामा बस्दै आएका थिए भने केही काठमाडौंमा बस्न नसकेपछि गाउँ नै फर्किएका हुन् ।

स्थानीय कामीनुर्पु तामाङका अनुसार जन्मभूमि, परम्परा र रीतिरिवाजको संरक्षण गर्ने उद्देश्यले आफूहरू गाउँ फर्किएका हुन् । सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म र कसरी गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उनले बताए ।

उनका अनुसार विभिन्न सङ्घसंस्थाले थप टेन्ट तथा राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएका छन् । बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौंमा बस्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले खेतीकिसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ गाउँ फर्किएको बताए ।

टिमुरेका अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडितले आश्रय लिएका थिए । उनीहरूमध्ये १५१ जना बालबालिका र ८० जना वृद्धवृद्धा थिए ।

सरकारले बाढीपीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिलेसम्म ठोस निर्णय नगर्दा प्रभावितहरू समस्यामा परेको घलेले बताए ।

बाढीका कारण विस्थापित भएका स्थानीय बासिन्दा आफ्नै गाउँ फर्किए पनि सुरक्षित र व्यवस्थित बसोबासको टुङ्गो नलाग्दा टेन्टको भरमा जीवनयापन गर्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?