राष्ट्र बैंकको खुद नाफा ८३ अर्ब ५६ करोड पुग्यो, सरकारलाई ४२ अर्ब हस्तान्तरण गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ । विदेशी मुद्रा सञ्चिति र त्यसबाट प्राप्त ब्याज आम्दानी बढेपछि केन्द्रीय बैंकको नाफामा सुधार आएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा वर्षमा बैंकले ८३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको ८० अर्ब ४८ करोड रुपैयाँको तुलनामा ३ अर्ब ८ करोड रुपैयाँ अर्थात् ३.८४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा नेपालको विदेशी मुद्रा सञ्चितिमा पनि उल्लेख्य वृद्धि भएको छ । रेमिट्यान्स आप्रवाह र आयातमा आएको सुधारसँगै कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले बढेर ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो ।

विदेशी मुद्राबाट प्राप्त ब्याज आम्दानी पनि बढेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा विदेशी मुद्राबाट १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २३ प्रतिशत बढी हो । तर, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम बढी भएका कारण नेपाली मुद्रातर्फको ब्याज आम्दानीमा भने नकारात्मक असर परेको छ ।

यसैगरी, सुनचाँदीको मूल्य र विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण राष्ट्र बैंकले ठूलो मूल्यांकन लाभ प्राप्त गरेको छ । सुनचाँदीको मूल्यमा भएको वृद्धिबाट ७१ अर्ब ७१ करोड रुपैयाँ र विदेशी विनिमय दरको उतारचढावबाट २ खर्ब ५४ अर्ब ८३ करोड रुपैयाँ बराबरको मूल्यांकन लाभ भएको छ ।

यस्तो लाभलाई बैंकले नगदमा प्राप्त गरिसकेको भने हुँदैन । बैंकसँग रहेको सम्पत्तिको मूल्यमा भएको परिवर्तनका आधारमा गणना गरिएको लाभ हो ।

राष्ट्र बैंक सञ्चालक समितिले विभिन्न सञ्चिति कोषमा रकम छुट्याएपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई दिने निर्णय गरेको छ ।

समीक्षा अवधिमा देशको आर्थिक अवस्था पनि सुधारोन्मुख देखिएको छ । वार्षिक औसत मुद्रास्फीति ३.०८ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ र शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ ।

विदेशी मुद्रा सञ्चितिले करिब २३ महिनाको वस्तु आयात तथा १९.६ महिनाको वस्तु र सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेर ३८ खर्ब ७४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी पुगेको छ । २०८३ असार मसान्तसम्म विभिन्न दरका गरी ८ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?