प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, के-के छन् भ्रमणका एजेन्डा ?

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणका लागि मन्त्रालयले विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारेको जानकारी दिएका छन् । भ्रमणका विषयमा विस्तृत जानकारी मन्त्रालयले छिट्टै सार्वजनिक गर्ने उनले बताए ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतबीच कनेक्टिभिटी विस्तार, विकास सहायता, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषयले प्राथमिकता पाउने जनाइएको छ ।

भ्रमणमा हवाई कनेक्टिभिटी विस्तार, नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, रेलवे तथा सडक सञ्जाल विस्तार र ऊर्जा पूर्वाधार विकासका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलसेवा सञ्चालन, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार तथा रक्सौल–काठमाडौं रेलमार्गको सम्भावनाबारे छलफल हुने बताइएको छ । साथै, अन्य रेल सम्पर्क विस्तारका विषयमा पनि सहमति जुटाउने प्रयास हुनेछ ।

त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आईसीपी) निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन् ।

विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग अभिवृद्धि गर्ने तथा भारतको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूको समीक्षा गर्ने विषयलाई पनि भ्रमणमा समेटिनेछ । सम्पन्न आयोजनाको उद्घाटन तथा हस्तान्तरण र निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।

भारतीय सहयोगमा केही नयाँ विकास आयोजना सुरु गर्ने विषयले पनि भ्रमणमा प्राथमिकता पाउने अपेक्षा गरिएको छ । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानजस्ता सम्पन्न आयोजनाको उद्घाटन तथा हस्तान्तरण र निर्माणाधीन परियोजनाको कामलाई तीव्रता दिने विषय पनि सम्भावित एजेन्डामा रहेको बताइएको छ ।

यसका अतिरिक्त दुई देशबीच पर्यटन प्रवर्द्धन, नागरिकस्तरको सम्बन्ध विस्तार तथा सीमापार भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने सम्भावना छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीकै सिलसिलामा भारतीय विदेश सचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसक्रममा उनले प्रधानमन्त्री शाहसहित विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

भ्रमणको पूर्वतयारीस्वरूप दुवै देशले रिक्त रहेका राजदूत पदमा नियुक्ति गरिसकेका छन् । नवनियुक्त राजदूतहरूले पनि आ–आफ्नो तहबाट भ्रमणको तयारी अघि बढाएको सम्बन्धित दूतावासले जनाएका छन् ।

प्रधानमन्त्री शाहले गत चैत १३ गते पदभार ग्रहण गरेपछि असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन पहिलो विदेश भ्रमण गरेका थिए । उनको आसन्न भारत भ्रमण भने प्रधानमन्त्री बनेपछि छिमेकी मुलुकमा हुन लागेको पहिलो औपचारिक भ्रमण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?