बाँकेका तीन अलपत्र आयोजनाको ठेक्का सम्झौता रद्द, जब्दीघाटमा नयाँ पुल बन्ने

लोकपथ
0
Shares
फाइल तस्बिर

बाँके । लामो समयदेखि अलपत्र अवस्थामा रहेका बाँके र बर्दियाका तीन सडक तथा पुल आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । पटकपटक म्याद थप गर्दा पनि निर्माण तथा मर्मतको काम सम्पन्न हुन नसकेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता रद्द गरेको हो ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्रप्रसाद भट्टका अनुसार रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक मर्मत, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दीसम्म जोड्ने सडक सुधार आयोजनाको ठेक्का तोडिएको हो ।

रत्न राजमार्गको उक्त सडकखण्डको मर्मत गत वर्ष नै सम्पन्न गर्नुपर्ने थियो । त्यस्तै, औरही नदी पुलको पहुँचमार्ग सुधार र ओम आदर्श विद्यालयदेखि भद्दीसम्मको सडक सुधार आयोजना आर्थिक वर्ष २०८१/८२ भित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले निर्धारित समयमा काम पूरा गर्न सकेका थिएनन् ।

पटकपटक म्याद थप गर्दा पनि निर्माणकार्यले गति लिन नसकेपछि भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनमा ठेक्का सम्झौता रद्द गरिएको कार्यालयले जनाएको छ ।

प्रगतिको सम्भावना नरहेका रुग्ण आयोजनालाई निरन्तरता दिनुभन्दा ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाउने मन्त्रालयको निर्देशनअनुसार काम अगाडि बढाइएको भट्टले बताए ।

यसैबीच, सडक डिभिजन कार्यालय नेपालगन्जले बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

कार्यालय र चितवनको भरतपुर–३ स्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।

६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँ लागतमा निर्माण हुने पुल दुई लेनको हुनेछ । पुलको लम्बाइ ४२० मिटर र चौडाइ ११ मिटर रहनेछ । निर्माण व्यवसायीले सम्झौता भएको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन पेस गरी पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ ।

सडक डिभिजन कार्यालयले २०८३ साल असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण नहुँदै २०७२ सालको बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।

तर, विसं २०७९ को बाढीले पुलका चार मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको सडक डिभिजन कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।

नयाँ पुल निर्माण भएपछि गुलरिया र बारबर्दियाका स्थानीयवासीलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?