भारततर्फ विद्युत् निर्यात बढाउन नेपालको पहल, प्रसारण पूर्वाधार विस्तारबारे छलफल

लोकपथ
0
Shares

काठमाडौं । नेपालले भारततर्फ विद्युत् निर्यातको सीमा बढाउन र अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्न भारतीय पक्षसँग छलफल अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार भएको भेटवार्तामा विद्युत् व्यापार र ऊर्जा पूर्वाधार विस्तारका विषयमा छलफल भएको हो ।

भेटमा मन्त्री श्रेष्ठले नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य बढाउनुपर्ने बताए । उनले दुवै देशको हित हुने आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै भारतीय राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

छलफलका क्रममा अन्तरदेशीय विद्युत् प्रसारण लाइन विस्तार, निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने र नेपालबाट भारततर्फ विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो ।

नेपालमा उत्पादित थप विद्युत् भारतीय बजारमा बिक्री गर्न निर्यातको सीमा बढाउनु आवश्यक रहेको नेपालको भनाइ छ । यसका लागि प्रसारण पूर्वाधार विस्तार र विद्युत् व्यापारमा थप सहकार्य गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको हो ।

त्यस्तै, भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा पनि नेपाल र भारतबीच सहकार्य गर्ने विषय उठेको छ । भूमिगत पानीका स्रोतको संरक्षण र पुनर्भरणका उपाय पहिचान गर्न दुवै देशले संयुक्त रूपमा अध्ययन तथा अनुसन्धान गर्न सक्ने सम्भावनाबारे छलफल भएको थियो ।

यसैगरी, नेपालमा सौर्य ऊर्जाको विकास र विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको छ ।

भेटमा दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजना अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?