काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्यून रहे पनि करको भार उच्च रहेको भन्दै सरकारले करका दर घटाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालको कर–जीडीपी अनुपात २१ प्रतिशत पुगेको उल्लेख गरे । उनले नेपाली करदाताले दक्षिण एसियाली क्षेत्रमै उच्च करको भार वहन गरिरहेको भन्दै व्यवसाय सञ्चालनको लागत घटाउने नीति लिन सरकारसँग आग्रह गरे ।
उनले अर्थमन्त्रीलाई करका दर घटाएर व्यवसाय गर्न सहज वातावरण निर्माण गर्न सुझाव दिए । कमजोर आर्थिक वृद्धिदर र उच्च करको भारले अर्थतन्त्रमा चुनौती थपिरहेको उनको भनाइ छ ।
श्रेष्ठले नयाँ सरकारले व्यक्तिगत आयकर तथा भन्सार दरमा कटौती, उधारो असुली, बौद्धिक सम्पत्ति संरक्षण र निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि अघि सारेका नीतिगत पहललाई सकारात्मक रूपमा लिएको बताए ।
सरकारले घोषणा गरेका सुधारका कार्यक्रम शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले करको भार घटाउने र व्यवसायमैत्री वातावरण बनाउने नीतिले लगानी बढाउन तथा आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया