काठमाडौं । यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा खडेरी, डढेलो र कृषि उत्पादनमा गिरावट आउने जोखिम बढेको छ ।
ब्राजिलमा जङ्गलमा आगलागी, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादन घट्ने सम्भावना बढेपछि विश्वभर खाद्य सुरक्षामा चुनौती थपिने चेतावनी दिइएको छ ।
संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय तथा मौसमविद्हरूले एल निनोको प्रभावले विश्वव्यापी वर्षा, हावा र तापक्रमको ढाँचामा परिवर्तन ल्याउने भन्दै खाद्य प्रणालीमा गम्भीर असर पर्न सक्ने बताएका छन् । यस वर्षको एल निनो डिसेम्बरमा उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ । यसको प्रभाव सन् २०२७ सम्म कायम रहन सक्ने बताइएको छ ।
एल निनोका कारण ब्राजिलको पारा राज्यमा नोभेम्बरको सुरुदेखि नै पाँच हजारभन्दा बढी डढेलोका घटना भएका छन् । गम्भीर खडेरी र आगलागी बढेपछि राज्यले आपत्काल घोषणा गरेको छ । आगलागी नियन्त्रणका लागि अमेजन क्षेत्रमा वनस्पति तथा जमिन सफा गर्न आगो लगाउन प्रतिबन्धसमेत लगाइएको छ । यसअघि पेरुले पनि एल निनोका कारण बाढी र पहिरोको जोखिम बढेपछि आपत्काल घोषणा गरेको थियो ।
पश्चिम अफ्रिकाको प्रमुख कोको उत्पादक मुलुक आइभोरी कोस्टमा यस वर्ष कोको उत्पादन २१ देखि २५ प्रतिशतसम्म घट्न सक्ने मौसमविद्हरूको अनुमान छ । वर्षामा १० देखि २७ प्रतिशतसम्म कमी आउने र लामो समय सुक्खा कायम रहने सम्भावनाले कोकोका फल समयअगावै सुक्ने तथा रूखका पात झर्ने जोखिम बढेको छ । उत्पादनमा गिरावट आए किसानको आम्दानीसँगै मुलुकको निर्यात राजस्वसमेत प्रभावित हुने देखिएको छ ।
यस्तै, इन्डोनेसियामा यस वर्ष लागेको डढेलोमा एल निनोको प्रमुख भूमिका रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । जुलाईदेखि अक्टोबरसम्म दक्षिणपूर्वी एसियामा वर्षा कम हुनुमा एल निनो जिम्मेवार रहेको उनीहरूको निष्कर्ष छ । जलवायु परिवर्तनका कारण यस्तो अवस्था सिर्जना हुने सम्भावना र तीव्रता झन्डै तीन गुणा बढेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
वन विनाश, दलदली जमिनको दोहन र खानी गतिविधिले पनि आगलागीको जोखिम बढाएको बताइएको छ । नुसानतारा एटलसका अनुसार सन् २०२६ मा इन्डोनेसियामा हालसम्म करिब २९ लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रमुख अलेक्जान्डर डे क्रूले एल निनोको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन् । उनका अनुसार अहिले नै जोखिम न्यूनीकरणका उपाय अपनाउँदा करिब ३६ अर्ब अमेरिकी डलर खर्च हुने भए पनि ढिलाइ गरेमा लागत बढेर ७३ अर्ब डलर पुग्न सक्छ । समयमै काम नगर्नु जलवायु नीतिको सबैभन्दा महँगो विकल्प हुने उनको भनाइ छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले पनि एल निनोका कारण खडेरी र बाढीको जोखिम बढ्दा खाद्य असुरक्षा थप गम्भीर बन्न सक्ने चेतावनी दिएको छ । एफएओका अनुसार जोखिममा रहेका २२ मुलुकमध्ये आधाभन्दा बढी अफ्रिकामा छन् । बाँकी मुलुक एसिया–प्रशान्त, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा रहेका छन् ।
एफएओका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले द्वन्द्व, आर्थिक सङ्कट, उच्च ऋण र कृषि सामग्रीको अभाव झेलिरहेका मुलुकमा एल निनोले खाद्य प्रणालीलाई थप कमजोर बनाउने बताएका छन् । खाद्यान्न उत्पादनमा मात्र नभई सर्वसाधारणको खाद्यान्नमा पहुँचमा समेत असर पर्न सक्ने भएकाले बाली, पशुधन र जलस्रोतको संरक्षणका लागि समयमै तयारी गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया