काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको नाममा सञ्चालन भइरहेका नक्कली सामाजिक सञ्जालका आईडीबाट मिथ्या सूचना तथा भ्रामक सन्देश फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको नाममा आउने अभिव्यक्तिको आधिकारिकतामाथि प्रश्न उठाएका हुन् ।
पछिल्लो समय ‘ठूलो माछा समात्ने’ लगायतका अभिव्यक्ति सार्वजनिक भइरहे पनि ती प्रधानमन्त्रीका आधिकारिक ह्यान्डलबाट आएका हुन् वा नक्कली आईडीबाट भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
उनले ‘ठूलो माछा’ भन्नाले भ्रष्टाचारका नाइके वा प्रमुख दोषीलाई संकेत गरिएको हो भने सरकारले कानुनी प्रक्रिया पूरा गरी निष्पक्ष र पारदर्शी रूपमा कारबाही अघि बढाउनुपर्ने बताएका छन् ।
जेन्जी आन्दोलनका माग, सरकारका पूर्वप्रतिबद्धता र नागरिकको अपेक्षाअनुसार भ्रष्टाचारमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै केसीले अत्यधिक बहुमत प्राप्त शक्तिशाली सरकारलाई यस्तो कदम चाल्न कसले र किन रोकिरहेको छ भन्ने प्रश्न गरेका छन् ।
सरकारले सामाजिक सञ्जालमार्फत अभिव्यक्ति र घोषणा गर्नुभन्दा संसदीय प्रक्रिया तथा कानुनी विधिअनुसार काम गरेर आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
प्रधानमन्त्रीको नाम र पहिचान दुरुपयोग गरी नक्कली आईडीबाट मिथ्या सूचना, भ्रामक सन्देश वा धम्कीपूर्ण अभिव्यक्ति फैलाइएको भए सरकार मौन बस्न नहुने उनको भनाइ छ। यस्ता गतिविधिबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनले बताएका छन् ।
असल नियतले मात्रै नपुग्ने भन्दै केसीले विधि र प्रक्रिया मिचेर परिणाम खोज्दा त्यसले उल्टो असर पार्न सक्ने टिप्पणी गरेका छन् । विधि र प्रक्रियाविनाको परिणाममुखी सोचले अधिनायकवादी प्रवृत्तिलाई प्रश्रय दिन सक्ने उनको भनाइ छ ।
सरकारको काम धम्की दिने वा आफू नै संविधान, विधि र राज्य हुँ भन्ने शैली प्रदर्शन गर्ने नभई कानुनको निष्पक्ष कार्यान्वयन गर्दै न्यायको प्रत्याभूति गर्नु भएको उनले बताएका छन् । प्रधानमन्त्रीले सस्तो लोकप्रियताभन्दा कामबाटै आफ्ना प्रतिबद्धता प्रमाणित गर्नुपर्ने सुझावसमेत केसीले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया