आजदेखि उपत्यकामा मासु जाँचको कानुनी व्यवस्था कार्यान्वयन

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मासु जाँचसम्बन्धी कानुनी व्यवस्था लागू भएको छ । अब उपत्यकामा बिक्री हुने मासुमा आधिकारिक जाँचको छाप अनिवार्य गरिएको छ ।

उपभोक्तालाई स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। यसको सुरुवातसँगै उपत्यकाका तीनवटा वधशालाबाट जाँचको छाप लगाइएको मासु बिक्री गर्न थालिएको छ ।

नयाँ व्यवस्थाअनुसार पशु काट्नुअघि र काटिसकेपछि स्वास्थ्य तथा मासुको गुणस्तर परीक्षण गरिनेछ । परीक्षणपछि योग्य ठहरिएको मासुमा आधिकारिक छाप लगाइनेछ ।

अब उपभोक्ताले मासु किन्दा आधिकारिक जाँचको छाप भए–नभएको हेर्नुपर्नेछ । यसले अस्वस्थ पशुको मासु बिक्री हुनबाट रोक्न र मासुमा हुने सम्भावित स्वास्थ्य जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि उपत्यकाका विभिन्न स्थानमा स्वास्थ्य परीक्षणबिना पशु वध गरी मासु बिक्री हुने गरेको गुनासो आउने गरेको थियो । नयाँ व्यवस्थाले पशु वधदेखि मासु बिक्रीसम्मको प्रक्रियालाई व्यवस्थित र स्वच्छ बनाउने लक्ष्य राखेको छ ।

तीनवटा वधशालाबाट सुरु गरिएको छापयुक्त मासु बिक्रीलाई क्रमशः उपत्यकाभर विस्तार गरिने अपेक्षा गरिएको छ । यसका लागि सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?