काठमाडौं । नेपाल टेलिकमको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३७.३५ प्रतिशतले बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको करअघिको नाफा पनि ३.६५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो नाफा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ थियो ।
कम्पनीको कुल आय भने सामान्य ०.०७ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । तर, सञ्चालन आयमा भने सामान्य गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ रहेको सञ्चालन आय यस वर्ष ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा (इबिट्डा) ६.१३ प्रतिशतले घटेर ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ थियो ।
नेपाल टेलिकमका अनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित हुँदा कम्पनीको आम्दानीमा असर परेको हो । प्रभावित सेवाग्राहीलाई १७ दिनसम्म निःशुल्क डेटा र भ्वाइस सेवा उपलब्ध गराउँदा सेवा बिक्रीबाट प्राप्त हुने राजस्व घटेको कम्पनीले जनाएको छ । असोज २५ गते बूढीगण्डकीमा आएको बाढीले पनि सेवामा असर पारेको थियो ।
त्यसैगरी, कम मूल्यका तथा ठूला डेटा प्याकेजको प्रयोग बढ्दा पनि कम्पनीको आम्दानी प्रभावित भएको छ । यद्यपि, समीक्षा अवधिमा जीएसएम सेवाको सञ्चालन राजस्व १० लाख रुपैयाँ र एफटीटीएच सेवाको राजस्व ४ करोड ४० लाख रुपैयाँले बढेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कर्मचारीको तलब वृद्धि हुँदा खर्च बढेको छ । तर, ह्रास खर्च घट्नु र मूल्यह्रास क्षति फिर्ता समायोजनका कारण कुल खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको छ ।
नेपाल टेलिकमले दुर्गम तथा विकट क्षेत्रमा पनि दूरसञ्चार सेवा विस्तार र सेवाको गुणस्तर सुधारलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया