जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् ।
लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित गंगासागरमा छठ पर्व मनाउन आउन लागेका हुन् ।
रास्वपा मधेश प्रदेश कार्यालयका अनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
दिउँसो २ देखि ४ बजेसम्म पार्टीका विभिन्न तहका पदाधिकारीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साँझ ५ बजे छठ पूजाको तयारीका लागि निर्धारित निवासतर्फ जानेछन् ।
आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म उनले जनकपुरधाम र आसपासका विभिन्न धार्मिक स्थलको दर्शन गर्नेछन् । यस क्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मिथियानी लक्ष्मीनारायण मठ र जलेश्वरनाथ मन्दिर पुग्ने कार्यक्रम छ ।
आइतबार दिउँसो ३ बजे गंगासागरमा आयोजना हुने छठ पूजामा लामिछाने सहभागी हुनेछन् ।
त्यस्तै, सोमबार बिहान ४ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने कार्यक्रममा सहभागी भएपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट फर्किने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ ।
मधेश प्रदेशका महामन्त्री मानिकुमार साहले जारी गरेको सूचनामार्फत पार्टीका नेता, सांसद, सदस्य तथा शुभेच्छुकलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया