विश्व स्ट्रोक दिवसमा स्वयम्भूमा विशेष अभियान : पदयात्रा, स्वास्थ्य परीक्षण र वृक्षरोपण

लोकपथ
14
Shares

काठमाडौं– + विश्व स्ट्रोक दिवस २०२६ को अवसरमा स्ट्रोकसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंको स्वयम्भूमा ‘स्ट्रोक सचेतनाका लागि हरित पदयात्रा’ सम्पन्न भएको छ।

नेपाल स्ट्रोक एसोसिएसन (NSA), नेपाल स्ट्रोक प्रोजेक्ट (NSP) तथा नेसनल न्युरो सेन्टर (NNC) को संयुक्त आयोजनामा अक्टोबर २९ का दिन धर्मचक्र पार्क तथा आसपासको स्वयम्भू क्षेत्रमा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका वडा नं. १५ को समन्वय तथा विभिन्न स्थानीय संघसंस्थाको सहयोगमा आयोजित कार्यक्रममा ३ सयभन्दा बढी मानिसको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका क्रममा १ सय ६१ जनाले स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका थिए । त्यसैगरी, विश्व स्ट्रोक दिवसको मिति अक्टोबर २९ लाई प्रतीकात्मक रूपमा प्रतिनिधित्व गर्दै २९ वटा फलफूल तथा जंगली प्रजातिका बिरुवा रोपिएको थियो ।

नेपाल स्ट्रोक एसोसिएसनका अध्यक्ष डा. पंकज जलानको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए । प्रतिनिधिसभा सदस्य कृपा महर्जन, काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान श्रेष्ठ तथा विरिष्ठ न्यूराेलाेजिष्ट डा. राजु पौडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्ट्रोकका प्रमुख लक्षण पहिचान, जोखिम न्यूनीकरण तथा आकस्मिक अवस्थामा समयमै उपचार लिनुपर्ने आवश्यकताबारे जनचेतना अभिवृद्धिमा जोड दिइएको थियो। विशेषगरी उच्च रक्तचाप, मधुमेह, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता तथा धूमपानजस्ता स्ट्रोकका जोखिम कारकप्रति सचेत रहनुपर्ने सन्देश प्रवाह गरिएको थियो।

आयोजकका अनुसार स्ट्रोकको रोकथाम र समयमै उपचारबारे समुदायस्तरमा जानकारी पुर्‍याउनुका साथै नागरिकलाई नियमित शारीरिक गतिविधि र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु कार्यक्रमको प्रमुख उद्देश्य थियो।

पदयात्रासँगै सञ्चालन गरिएको स्वास्थ्य परीक्षणले नागरिकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्भावित जोखिम पहिचान गर्न सहयोग पुर्‍याएको आयोजकको भनाइ छ। त्यस्तै, वृक्षरोपण कार्यक्रममार्फत जनस्वास्थ्य र वातावरण संरक्षणलाई एकै अभियानसँग जोड्ने प्रयास गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वयंसेवक तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रमले स्ट्रोक रोकथाम तथा जनस्वास्थ्य प्रवर्द्धनका लागि स्वास्थ्य संस्था, स्थानीय सरकार र समुदायबीचको सहकार्य आवश्यक रहेको सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?