सामाजिक अभियन्ता सन्तोषी ढुंगानाद्वारा ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण

लोकपथ
0
Shares

नुवाकोट । सामाजिक अभियन्ता सन्तोषी ढुंगानाले बेलकोटगढी नगरपालिकाका तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकी छन् ।

उनले करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेकी हुन् ।

कपडा वितरण कार्यक्रममा ढुंगानाले आफ्नो सहयोग अभियान विशुद्ध सामाजिक सेवामा केन्द्रित रहेको र यसमा कुनै राजनीतिक स्वार्थ नरहेको स्पष्ट पारिन् । विद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त राख्दै विद्यार्थीको हित, सिकाइ र शैक्षिक अवसर विस्तारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो

उनले विद्यालयमा विभेदरहित वातावरण निर्माण गर्नुपर्ने र सबै बालबालिकाका लागि शिक्षामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । आर्थिक अवस्था वा सामाजिक पृष्ठभूमिका कारण कुनै पनि बालबालिका शैक्षिक अवसरबाट वञ्चित हुन नहुने उनले बताइन् ।

आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति तथा टाढाबाट विद्यालय आउने बालबालिकालाई यातायात सुविधा उपलब्ध गराउन पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरिन् । विद्यार्थीको शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न उनीहरूको पढाइमा बाधा पुर्‍याउने समस्याको समाधान गर्नुपर्ने उनले बताइन् ।

कपडा वितरण कार्यक्रममा तीनवटै विद्यालयका शिक्षक तथा विद्यालय परिवार, किरण बाबु गजुरेल, प्रवीण बडाललगायत सहयोगीहरूको सहभागिता थियो ।

विगत एक दशकदेखि व्यक्तिगत रूपमा विभिन्न व्यक्ति तथा समुदायलाई सहयोग गर्दै आएकी ढुंगानाले यसअघि नुवाकोटका विभिन्न विद्यालयमा १५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिसकेकी छन् । विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रम पनि उनको निरन्तर सामाजिक सहयोग अभियानअन्तर्गत सञ्चालन गरिएको हो ।

यसैक्रममा ढुंगानाले बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगत लामासँग पनि भेटघाट गरेकी छन् । भेटमा नगरको समग्र अवस्था तथा विकाससँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?