काठमाडौं । उच्च अदालत पाटनले चर्चित टिकटकर तुलसी अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
तुल्सा कलेक्सनकी सञ्चालक समेत रहेकी अधिकारीलाई आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने यसअघि जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटन ललितपुरले पनि सदर गरिदिएको हो ।
०८३ साल जेठ २१ गते ललितपुर जिल्ला अदालतले तुलसीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अधिकारीले त्यसकोविरुद्धमा उच्च अदालत पाटनमा पुनरावेदनका लागि निवेदन दिएकी थिइन् । उक्त निवेदनमाथि बिहीबार सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बेरीतको नदेखिएको भन्दै त्यसलाई परिवर्तन गर्न नपर्ने आदेश दिएको हो ।
‘….तुलसा कलेक्सन प्रालिको सम्बन्धित निकायमा पेश गरेको भनिएको आय व्यय विवरणमा घटी कारोबार देखाउनुमा आफ्नो कमजोरी रहेको भनी प्रतिवादीले बयानमा उल्लेख गरेको अवस्था समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणको आधारमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी यी प्रतिवादी तुलसी अधिकारीलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने गरी तहाँ अदालतबाट मिति २०८२–०२–२१ मा भएको आदेश बेरीतको नदेखिँदा परिवर्तन गरिरहनु परेन । कानून बमोजिम गर्नू,’ आदेशमा भनिएको छ ।
अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ । उनीविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ८ अनुसार आपराधिक लाभ (एक्सटर्सन) लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत र स्थान बदलेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ विपरीत कसूर गरेको अभियोग लगाइएको छ । अभियोगपत्रमा पीडितलाई क्षतिपूर्तिसहित कानुनबमोजिम कडा सजायको माग गरिएको छ ।

यसअघि प्रकाशित यी समाचारहरु हेर्नुहोस् :
तुल्सी अधिकारीले ६ करोड ५२ लाख रुपैयाँ आपराधिक लाभ लिएको कसुरमा मुद्दा दायर
तुल्सी अधिकारीको भैँसेपाटीमा ४ करोड बढीको घर : छोरी र आफ्नो नाममा करोड बैंक ब्यालेन्स
तुल्सीले भनिन्, ‘अन्तरंग फोटो र भिडियो खिचेको हो, नेपाल आएर प्रहरीमा सरेन्डर गर्छु’
तुल्सी अधिकारीको हनी ट्र्याप प्रकरण: कांग्रेस नेतृ लक्ष्मी खतिवडामाथि पनि मुद्दा दायर गरिने
तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदै
टिकटकर तुल्सी अधिकारी थाइल्याण्डबाट पक्राउ
यी हुन् तुल्सी अधिकारीलाई थुनामा पठाउन अदालतले टेकेका आधारहरु [पूर्णपाठ]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया