रिभर मोबिलिटीको पहिलो अन्तर्राष्ट्रिय स्टोर नेपालमा, ‘इन्डी’ स्कुटरको मूल्य ३ लाख ७० हजार

लोकपथ
42
Shares

काठमाडौं । भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीले नेपालमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले विशाल ग्रुपसँगको साझेदारीमा काठमाडौंको नक्सालस्थित नारायण चौर, सामा मार्गमा स्टोर खोलेको हो ।

नयाँ स्टोरबाट ग्राहकले कम्पनीको विद्युतीय स्कुटर ‘इन्डी’को टेस्ट राइड, बुकिङ तथा एसेसरिज खरिद गर्न सक्नेछन् । बिक्रीपछिको सेवा उपलब्ध गराउन कम्पनीले भीमसेनस्थानस्थित भीजी सुजुकी सर्भिस सेन्टरमा छुट्टै सर्भिस सेन्टरसमेत स्थापना गरेको छ ।

रिभर मोबिलिटीले गत महिना काठमाडौंमा आयोजित नाइमा एक्स्पो २०२६ मार्फत ‘इन्डी’ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार स्कुटरप्रति ग्राहकको चासो बढ्दै गएपछि हालसम्म १५० भन्दा बढी प्रि(अर्डर प्राप्त भएका छन् । स्टोर उद्घाटनका अवसरमा ग्राहकलाई स्कुटर हस्तान्तरणसमेत गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२८ मार्चसम्म नेपालका सबै प्रदेशमा स्टोर विस्तार गर्ने लक्ष्य राखेको छ । विशाल ग्रुपसँगको सहकार्यमा प्रमुख सहरहरूमा बिक्री तथा सर्भिस नेटवर्क विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

‘इन्डी’मा ४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । कम्पनीका अनुसार स्कुटरले एकपटक पूर्ण चार्ज गर्दा आईडीसी मापदण्डअनुसार १६० किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसको अधिकतम गति प्रतिघण्टा ९० किलोमिटर रहेको छ ।

त्यस्तै, स्कुटरमा १७७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४ इन्चका पाङ्ग्रा र ५५ लिटर क्षमताको लक गर्न मिल्ने स्टोरेज रहेको छ ।

रिभर मोबिलिटीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अरविन्द मणिले नेपाल प्रवेशलाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको महत्त्वपूर्ण चरणका रूपमा उल्लेख गरेका छन् । उनले ग्राहकको विश्वास जित्ने र सेवाको गुणस्तर कायम गर्ने विषयलाई प्राथमिकता दिइएको बताए ।

त्यस्तै, विशाल ग्रुपका निर्देशक निकुञ्ज अग्रवालले अटोमोटिभ क्षेत्रमा समूहको अनुभव र देशव्यापी सञ्जालमार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली बजारमा रिभर ‘इन्डी’को एक्स(शोरुम मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ । इच्छुक ग्राहकले नक्सालस्थित स्टोरमा पुगेर स्कुटरको टेस्ट राइड तथा बुकिङ गर्न सक्नेछन् । साथै, कम्पनीको वेबसाइटमार्फत पनि स्कुटरबारे थप जानकारी लिन सकिनेछ ।

सन् २०२१ मा स्थापना भएको रिभर मोबिलिटी भारतको बेङ्गलुरुमा आधारित विद्युतीय सवारीसाधन निर्माता कम्पनी हो । विशाल ग्रुपले नेपालमा अटोमोटिभ वितरण, वित्तीय सेवा तथा उत्पादनलगायतका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?