काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कृत्रिम बौद्धिकता (एआई) र प्रविधिको बढ्दो प्रभावसँग प्रतिस्पर्धा गर्न नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।
शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै थापाले विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्ने बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।
उनले परम्परागत शिक्षण सिकाइ विधिलाई परिमार्जन गर्दै विद्यार्थीलाई के सिकाउनेभन्दा पनि कसरी सिक्ने भन्ने सीप सिकाउनुपर्नेमा जोड दिए । आगामी केही वर्षभित्रै प्रत्येक विद्यार्थीसँग एआई ट्युटर हुन सक्ने सम्भावना औँल्याउँदै उनले प्रविधिमा भइरहेको परिवर्तनअनुसार शिक्षा प्रणाली विकास गर्नुपर्ने बताए ।
थापाले विद्यार्थीलाई आफ्नो माटो, संस्कार र संस्कृतिसँग जोड्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने नागरिकका रूपमा तयार पार्नुपर्ने बताए । गुणस्तरीय शिक्षा, आत्मविश्वास, सिक्ने सीप र मानसिक दृढता विकास गर्नु राज्यको प्रमुख दायित्व भएको उनको भनाइ थियो ।
विगतमा शिक्षा र स्वास्थ्यलाई सामुदायिक सम्पत्तिका रूपमा विकास गर्ने अवसर गुमाएको उल्लेख गर्दै थापाले अब यी क्षेत्रलाई पुनः सामुदायिक हितसँग जोड्नुपर्ने बताए ।
उनले नेपालको सबैभन्दा ठूलो शक्ति जलस्रोतभन्दा पनि मानव संसाधन भएको बताउँदै विद्यालय र बालबालिकामा ठूलो लगानी गर्नुपर्ने धारणा राखे ।
थापाले पशुपति मित्र माध्यमिक विद्यालयले समुदायलाई जोडेर गरेको कामको प्रशंसा गर्दै विद्यालयको प्रगतिको कामना गरे । नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलो सार्वजनिक कार्यक्रममा आफूलाई हुर्काउने विद्यालयमा सहभागी हुन पाउँदा खुसी लागेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया