नेपाल एसबिआई मर्चेन्ट बैंकिङद्वारा वित्तीय साक्षरता तथा पुँजी बजार सचेतना कार्यक्रम सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले विश्व लगानी सप्ताह २०२६ को अवसरमा काठमाडौंको गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा वित्तीय साक्षरता तथा पुँजी बजारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

महिलालाई आर्थिक रूपमा सक्षम बनाउने र लगानीसम्बन्धी ज्ञान बढाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ५० भन्दा बढी महिला विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रममा बचत गर्ने तरिका, व्यक्तिगत आर्थिक व्यवस्थापन, दीर्घकालीन लगानी, नेपालको पुँजी बजार, डिम्याट खाता, मेरो शेयर र प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी आधारभूत जानकारी दिइएको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका संस्थागत परामर्श प्रमुख अरुण श्रेष्ठले गरेका थिए। कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शान्ता पण्डित, सहप्रधानाध्यापक उर्मिला प्रधान तथा कम्पनीका लगानी प्रमुख उत्सव तुलाधरलगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानाध्यापक पण्डितले महिलालाई वित्तीय शिक्षा प्रदान गर्दा उनीहरूको आर्थिक निर्णय गर्ने क्षमता बढ्ने विश्वास व्यक्त गरिन् । उनले कार्यक्रम आयोजना गरेकोमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई धन्यवाद दिइन् ।

कम्पनीका प्रतिनिधिहरूले आर्थिक रूपमा सचेत र सक्षम नागरिक बनाउन वित्तीय साक्षरता आवश्यक रहेको बताए । विशेषगरी महिलालाई औपचारिक वित्तीय प्रणाली र पुँजी बजारसँग जोड्न यस्ता कार्यक्रम सञ्चालन गरिएको उनीहरूको भनाइ थियो ।

चेतना महिला माध्यमिक विद्यालयले विगत २२ वर्षभन्दा बढी समयदेखि विभिन्न उमेर समूहका महिलालाई कक्षा १ देखि १० सम्म शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयबाट एसईई उत्तीर्ण गरेका महिलाहरू स्थानीय तहको नेतृत्व, उद्यम, स्वास्थ्य सेवा तथा अन्य विभिन्न पेसामा आबद्ध छन् ।

हाल विद्यालयमा १६० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् भने दैनिक करिब १२० जना विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?