प्रधानमन्त्री बालेनको चासोपछि वायुसेवा कम्पनी भाडा घटाउन तयार

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेश’को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन् ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी हवाई भाडादर बढाइएको गुनासो आएपछि प्रधानमन्त्री शाहले यस विषयमा चासो देखाएका थिए । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो ।

छलफलमा वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने सहमति जनाएका क्यानले जनाएको छ ।

क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र त्यससम्बन्धी भाडादरको सूचना आफ्नो बिक्री वितरण प्लेटफर्ममा सार्वजनिक गर्ने सहमति भएको छ ।

यससँगै चाडपर्वका बेला हवाई यात्रुको चाप बढ्ने समयमा समेत यात्रुले सस्तो भाडामा टिकट पाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?