पेप्सीकोलामा ‘फोटोन’ को नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर बन्दै

लोकपथ
7
Shares

काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रालिले काठमाडौंको पेप्सीकोलामा नेपालकै ठूलो व्यवस्थित र अत्याधुनिक ईभी कमर्सियल सर्भिस सेन्टर स्थापना गरिरहेको छ ।

नेपालमा लामो समयदेखि फोटोन ब्राण्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आएको कम्पनीले बिक्रीपछिको सेवालाई थप प्रभावकारी र सहज बनाउन नयाँ सर्भिस सेन्टर निर्माण गरिरहेको जनाएको छ ।

आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण र पर्याप्त सेवा क्षमतासहित निर्माण भइरहेको सर्भिस सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त दक्ष प्राविधिक र इन्जिनियरको टोली रहनेछ ।

सर्भिस सेन्टरबाट फोटोनका सवारीसाधनको बिक्रीपछिको सेवा, जेन्युइन पार्ट्सको उपलब्धता, ब्याट्री परीक्षण, नियमित मर्मतसम्भार तथा ड्राइभर र प्राविधिक तालिमसमेत एउटै स्थानबाट उपलब्ध गराउने कम्पनीको योजना छ ।

फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा। अनिल कुमार बरालले बिक्रीपछिको गुणस्तरीय सेवा कम्पनीको पहिलो प्राथमिकता रहेको बताए ।

सवारीसाधन बिक्री गर्नु मात्र नभई ग्राहकलाई गुणस्तरीय सेवा, जेन्युइन पार्ट्स र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराउनु कम्पनीको उद्देश्य रहेको उनको भनाइ छ ।

नयाँ सर्भिस सेन्टरमा फोटोनका विभिन्न सवारीसाधनको निरीक्षण, प्राविधिक परीक्षण तथा मर्मतसम्भारका लागि आधुनिक प्रणाली जडान गरिनेछ । आवश्यक पार्ट्स पर्याप्त मात्रामा उपलब्ध हुने भएकाले मर्मतका क्रममा हुने ढिलाइ घट्ने र ग्राहकले सवारीसाधन छिटो फिर्ता पाउने कम्पनीको अपेक्षा छ ।

हाल फोटोनका नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट सञ्चालनमा छन् । कम्पनीले सन् २०२६ को अन्त्यसम्म पूर्वदेखि पश्चिम नेपालका प्रमुख मार्गमा प्रत्येक १०० किलोमिटरभित्र फोटोनको टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

पेप्सीकोलामा निर्माण भइरहेको नयाँ सर्भिस सेन्टरलाई बिक्रीपछिको सेवा पूर्वाधार विस्तारमा महत्वपूर्ण लगानीका रूपमा लिइएको कम्पनीले जनाएको छ ।

सञ्चालनमा आएपछि यसले काठमाडौं उपत्यकाका फोटोन ग्राहकलाई थप छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै देशभरको बिक्रीपछिको सेवा सञ्जाललाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?