काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशम्शेर राणाले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राणाले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गरे । उनले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सिंगो तरुण पंक्तिको प्रतिनिधित्व गर्दै महामन्त्रीको दौडमा रहेको बताए ।
राणाले आफ्नो विगतको कार्यक्षमता र अनुभवलाई उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरे । तरुण दलको नेतृत्व गर्दा ललितपुरमा कांग्रेसले हासिल गरेको चुनावी सफलतालाई स्मरण गर्दै उनले आफ्नो नेतृत्व स्वच्छ र प्रभावकारी रहेको दाबी गरे ।
पार्टीभित्र देखिएको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्दै सबै पक्षलाई मूलधारमा समेटेर अघि बढ्न आफू सक्षम रहेको उनको भनाइ छ । उनले जिल्ला तथा प्रदेश तहका समर्थक र तरुण दलका साथीहरूलाई आफ्नो उम्मेदवारीलाई सफल बनाउन सक्रिय रूपमा लाग्न आग्रह गरे ।
‘म केवल उदयशम्शेरको रूपमा उठेको होइन, तरुण दलको पूर्व अध्यक्ष र युवाहरूको प्रतिनिधिको हैसियतले उम्मेदवारी दिएको हुँ । तरुण साथीहरूको साथ र सहयोग मेरो मुख्य शक्ति हो,’ उनले भने, ‘मैले तरुण दलको अध्यक्ष हुँदा ललितपुरमा कांग्रेसलाई क्लिन स्विप गराएको इतिहास छ । त्यही अनुभव र आत्मविश्वासका साथ म महामन्त्रीको जिम्मेवारी सम्हाल्न तयार छु ।’
पार्टीभित्र युवाहरूको ऊर्जालाई संगठित गर्दै वैचारिक तथा सांगठनिक सुधार अघि बढाउन आफू सक्षम रहेको राणाले बताए । उनले कांग्रेसलाई थप एकताबद्ध, गतिशील र प्रभावकारी बनाउन महामन्त्रीको भूमिकामा आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया