काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका नयाँ सिक्का छाप्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।
राष्ट्र बैंकले योग्य सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीहरूबाट सिलबन्दी बोलपत्र माग गरेको छ । बोलपत्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक विधिबाट एक चरणमा दुई छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ ।
सहभागी कम्पनीले प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव अलग–अलग सिलबन्दी खाममा राखेर पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । बोलपत्रसम्बन्धी कागजात राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा विभागअन्तर्गतको टक्सार महाशाखा, बबरमहलबाट प्राप्त गर्न सकिनेछ ।
योग्य कम्पनीले कागजात खरिदका लागि कम्पनी वा संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि, अधिकृत प्रतिनिधिको पत्र र कागजात शुल्क बुझाएको बैंक भौचर पेस गर्नुपर्नेछ । कागजात खरिद गर्ने समय आगामी २ नोभेम्बरसम्म तोकिएको छ। कागजातको शुल्क २० हजार रुपैयाँ तोकिएको छ ।
बोलपत्र पेस गर्नुअघि आगामी १५ अक्टोबरमा दिउँसो १२ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठक आयोजना हुनेछ ।
सिलबन्दी बोलपत्र आगामी ३ नोभेम्बर दिउँसो १२ बजेसम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा हात वा कुरियरमार्फत बुझाउनुपर्नेछ । तोकिएको समयपछि प्राप्त हुने बोलपत्र स्वीकार नगरिने राष्ट्र बैंकले जनाएको छ ।
पेस भएका बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ । बोलपत्र खोल्ने समयमा सहभागी हुन चाहने कम्पनीका प्रतिनिधि उपस्थित हुन सक्नेछन् ।
बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य हुनुपर्नेछ । साथै, बोलपत्रसँग कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलर बराबरको धरौटी सुरक्षण पेस गर्नुपर्नेछ । उक्त धरौटी बोलपत्रको मान्य अवधि सकिएको मितिपछि थप ३० दिनसम्म मान्य हुनुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार सार्वजनिक खरिदसम्बन्धी कानुनअनुसार कालोसूचीमा परेको कम्पनी, संस्था वा व्यक्ति बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन् । कालोसूचीमा परेको कम्पनी वा संस्थाका सञ्चालक वा लगानीकर्तासँग सम्बन्धित नयाँ कम्पनी वा संस्थालाई समेत बोलपत्रमा सहभागी हुन नदिइने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया