एक हजारभन्दा बढीको सहभागितामा सम्पन्न भयो ‘पिंकवाक २०२६’

लोकपथ
35
Shares

काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘पिंकवाक २०२६’ एक हजारभन्दा बढीको सहभागितामा सम्पन्न भएको छ ।

शनिबार बिहान काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भएको पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको हो । सहभागीहरूले स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक प्लेकार्ड बोकेर धिमेबाजासहित पदयात्रा गरेका थिए ।

कार्यक्रममा अनुराधा कोइराला, डा.ओजश्वी शेरचन, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, पूर्वमन्त्री सुमना श्रेष्ठ, संगीतकर्मी कालीप्रसाद बास्कोटा तथा मिस नेपाल दिपमाला दाहाललगायत सहभागी भएका थिए ।

कार्यक्रमका क्रममा क्यान्सर केयरका डा.मदन पिया, डा.सन्ध्या र डा.रश्मीले क्यान्सरको प्रारम्भिक पहिचान, शरीरमा देखिने परिवर्तन तथा उपचारका विषयमा जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सुगारिका केसीले गरेकी थिइन् ।

पाटन दरबार क्षेत्रमा भएको समापन समारोहमा क्यान्सर जितेका व्यक्तिहरूले आफ्नो अनुभव सुनाउँदै क्यान्सर जटिल रोग भए पनि समयमै पहिचान र उपचार गर्न सके निको भएर सामान्य जीवनयापन गर्न सकिने सन्देश दिएका थिए ।

स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, समयमै उपचार तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको पदयात्रामा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता थियो ।

कार्यक्रममा संकलित रकम क्यान्सरपीडितको सहयोगका लागि क्यान्सर केयर नेपाललाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।

पिंकवाक २०२६ इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गरेको हो । कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत संस्थाको सहयोग रहेको थियो ।

कार्यक्रममा नेशनल क्यान्सर अस्पताल, म्याक्स फाउन्डेसन, नोभाला बायोटेक, क्याम्स, ले मोनाल, स्नो ड्रप्स एच₂ओ, नेट टिभी, उनो, ह्याप्पी माइन्डस्, वाउ–वर्ल्ड अफ वुमेन, जीभी, बर्स्ट निम्बू फिज्ज, हिमालयन जाभा, स्मृतिपत्र, झिगु नेवाः बाजं खलः, पठाओ, क्यूएफएक्स, इसेवा, बज्र नासः खलः, ताल नृत्य भूमि, आईएसएस, वानपसल, क्रेयन्स् कोर्प तथा काठमाडौँ पोस्टलगायत विभिन्न संस्था तथा व्यवसायले साझेदारी गरेका थिए ।

स्तन क्यान्सरविरुद्धको सचेतना अभियानमा सहभागिता र ऐक्यबद्धता जनाउने सबैलाई आयोजक समितिले धन्यवाद व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?