सिप्रदी हायर पर्चेजको कर्जा रेटिङ बढ्यो, ८ महिनामा ५५ करोडको कारोबार

लोकपथ
0
Shares

काठमाडौं । सिप्रदी हायर पर्चेज प्राइभेट लिमिटेडको दीर्घकालीन कर्जा रेटिङ बढेको छ । इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा रेटिङ ‘LBB’ बाट बढाएर ‘LBB+’ कायम गरेको हो ।

इक्रा नेपालका अनुसार कम्पनीको दीर्घकालीन फन्डेड (रिभल्भिङ टर्म लोन) कर्जा सीमा पनि ४ अर्ब रुपैयाँबाट बढेर ५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको रेटिङ सुधार हुनुको मुख्य आधार सम्पत्तिको गुणस्तरमा आएको सुधार रहेको इक्रा नेपालले जनाएको छ । कम्पनीको ग्रस नन–परफर्मिङ एसेट (GNPA) करिब ३.२ प्रतिशतमा झरेको छ । अघिल्लो रेटिङका क्रममा अप्रिल २०२५ को मध्यतिर GNPA करिब १०.८ प्रतिशत थियो ।

त्यस्तै, ९० दिनभन्दा बढी भुक्तानी ढिला भएका कर्जाको हिस्सा पनि करिब १८ प्रतिशतबाट घटेर ५ प्रतिशतमा झरेको छ । कम्पनीको प्रोभिजन कभरेज करिब ८७ प्रतिशत पुगेको छ । यसले कम्पनीको सोल्भेन्सी प्रोफाइलमा समेत सुधार आएको इक्रा नेपालले जनाएको छ ।

आर्थिक वर्ष २०२६ मा कम्पनीको पोर्टफोलियो करिब २० प्रतिशतले बढेको छ । कम्पनीको गियरिङ करिब २.९ गुणा रहेको छ, जुन नियामकले तोकेको माथिल्लो सीमाभन्दा कम हो। यसका कारण कम्पनीसँग थप ऋण लिएर पोर्टफोलियो विस्तार गर्ने केही स्थान रहेको इक्रा नेपालले जनाएको छ ।

यद्यपि, कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन (NIM) भने घटेको छ। आर्थिक वर्ष २०२६ मा NIM करिब ६.६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ८.२ प्रतिशत थियो। लागत–आम्दानी अनुपात भने करिब ३५ प्रतिशत पुगेको छ।

सन् २०२६ को पहिलो ८ महिनामा कम्पनीको कुल व्यवस्थापित पोर्टफोलियो ४ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। सो अवधिमा कम्पनीको नेटवर्थ १ अर्ब २८ करोड ९० लाख रुपैयाँ रहेको छ।

कम्पनीले सन् २०२६ को ८ महिनामा ५४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२५ को १२ महिनामा कम्पनीको कारोबार ५५ करोड ५० लाख रुपैयाँ थियो । यसअघि सन् २०२४ मा ५८ करोड, २०२३ मा ५२ करोड ८० लाख र २०२२ मा ४९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०१४ मा स्थापना भएको सिप्रदी हायर पर्चेज, सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडको शतप्रतिशत स्वामित्व रहेको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्सको आधिकारिक राष्ट्रिय वितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?