बीवाईडी सिगलको दोस्रो पुस्ता सार्वजनिक, के छन् नयाँ फिचर ?

लोकपथ
28
Shares

काठमाडौं । बीवाईडीले आफ्नो चर्चित विद्युतीय ह्याचब्याक सिगलको दोस्रो पुस्ता चीनमा सार्वजनिक गरेको छ । नयाँ सिगललाई ‘ग्रेट सिगल’ पनि भनिएको छ ।

नयाँ मोडेलमा अघिल्लो संस्करणको तुलनामा ठूलो प्राविधिक परिवर्तन गरिएको छ । यसअघि अगाडिको भागमा रहेको मोटरलाई पछाडिको एक्सलमा सारिएको छ । यससँगै नयाँ सिगल अब फ्रन्ट–ह्विल ड्राइभको सट्टा रियर–ह्विल ड्राइभ भएको छ ।

मोटर पछाडि सारिएपछि अगाडिको भागमा सामान राख्न मिल्ने ‘फ्रंक’ समेत थपिएको छ। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) मा दर्ता भएका विवरण र सार्वजनिक डिजाइनका आधारमा चिनियाँ सञ्चारमाध्यम अटोहोमले नयाँ सिगलबारे जानकारी सार्वजनिक गरेको हो ।

नयाँ सिगलमा ९५ किलोवाट अर्थात् करिब १२७ हर्सपावर क्षमताको मोटर प्रयोग गरिएको छ । यसको अधिकतम गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुग्ने बताइएको छ ।

चेसिसमा पनि परिवर्तन गरिएको छ । पुरानो मोडेलमा रहेको पछाडिको टर्जन बीम सस्पेन्शन हटाएर नयाँ मोडेलमा इन्डिपेन्डेन्ट मल्टि–लिंक सस्पेन्शन राखिएको छ । नयाँ सिगलमा १६ इन्चका एलोय ह्विल र २०५र६० आर१६ टायर प्रयोग गरिएको छ ।

गाडीको भित्री भागमा फ्ल्याट–बटम दुई–स्पोक स्टेयरिङ ह्विल र फ्लोटिङ सेन्ट्रल टचस्क्रिन राखिएको छ । एयर भेन्ट्समुनि फिजिकल टगल स्विच, वायरलेस फोन चार्जर र दुईवटा कप होल्डर पनि दिइएको छ ।

नयाँ सिगलको उच्च भेरियन्टमा बीवाईडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री र फास्ट चार्जिङ सुविधा हुन सक्ने अनुमान गरिएको छ । तर कम्पनीले अहिलेसम्म चार्जिङ क्षमता र समयबारे आधिकारिक जानकारी दिएको छैन ।

नयाँ मोडेलमा अर्ध–लुकेका मेकानिकल ढोकाका ह्यान्डिल र ठूलो रूफ स्पोइलर पनि राखिएको छ । वैकल्पिक रूपमा रूफमा लिडार पोड राख्न सकिने बताइएको छ, जसले बीवाईडीको ‘डिपाइलट ३००’ अर्थात् ‘गोड्स आई बी’ लेभल–२ ड्राइभिङ असिस्टेन्स प्रणालीलाई सहयोग गर्नेछ ।

नयाँ सिगलको डिजाइन र प्रविधि चीनमा बिक्री हुने जिली ‘ईएक्स २’ अर्थात् ‘सिङयुआन’सँग केही हदसम्म मिल्दोजुल्दो छ । दुवैमा रियर–ह्विल ड्राइभ, इन्डिपेन्डेन्ट रियर सस्पेन्शन, फ्रन्ट ट्रंक र २ हजार ६५० मिलिमिटरको ह्वीलबेस छ । नयाँ सिगलको लम्बाइ भने ४ हजार २०५ मिलिमिटर रहेको छ ।

चीनको सानो विद्युतीय कार बजारमा प्रतिस्पर्धा बढिरहेका बेला बीवाईडीले सिगलमा यस्ता परिवर्तन गरेको हो । गत अगस्टमा पुरानो सिगलको चीनमा १० हजार १०३ युनिट खुद्रा दर्ता भएको थियो । सोही अवधिमा जिली सिङयुआनको खुद्रा दर्ता ३९ हजार ६५१ युनिट पुगेको थियो ।

नयाँ सिगलको आधिकारिक मूल्य र बजारमा बिक्री सुरु हुने मिति भने बीवाईडीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?