नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

लोकपथ
28
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीबाट क्षति भएका सवारी व्यवसायीलाई राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेट गरी बाढीबाट अटोमोबाइल क्षेत्रमा भएको क्षतिबारे छलफल गरेको हो ।

छलफलमा अध्यक्ष उप्रेतीले भदौ १० गते रसुवा, टिमुरे लगायतका क्षेत्रमा आएको बाढीले चीनबाट आयात गरिएका ठूलो संख्याका सवारी साधन बगाएको जानकारी गराए । दशैंको सिजनलाई लक्षित गरी आयात गरिएका ती सवारीमध्ये धेरै सवारीमा क्षति पुगेको भन्दै उनले पीडित व्यवसायीलाई सरकारले दिने राहत तथा सहुलियत छिटो कार्यान्वयन गर्न आग्रह गरे ।

नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार नखुलेका कारण पाँच सयभन्दा बढी सवारी साधन चिनियाँ क्षेत्रमा रोकिएको जानकारी दिए । उनले सीमा भन्सार सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न पनि आग्रह गरे ।

त्यस्तै, अहिलेसम्म ११ सिटे विद्युतीय माइक्रोबस छुट्न नसकेको भन्दै त्यसका लागि पनि पहल गर्न उनले अनुरोध गरे ।

जवाफमा महानिर्देशक भुसालले बाढीबाट प्रभावित व्यवसायीलाई सरकारले दिने सुविधा तथा सहुलियतबारे गृहकार्य भइरहेको जानकारी दिए । यस विषयमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयबीच छलफल भइरहेको उनले बताए ।

भेटमा नाडाका उपाध्यक्ष अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेलको पनि सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?