काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै पौडेलले आगामी १५औँ महाधिवेशनबाट आउने नयाँ नेतृत्वले चुनौतीपूर्ण अवस्थामा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले पार्टीभित्र देखिएको निराशा चिर्दै कार्यकर्तालाई उत्साहित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे । काठमाडौं महानगरबाट हुने निर्णय र गतिविधिले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले महानगरलाई सन्देश दिने केन्द्रका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
पौडेलले भने, ‘सत्तारुढभन्दा प्रमुख प्रतिपक्ष पार्टी नेपाली कांग्रेस बढी जिम्मेवार र परिपक्व हुनुपर्ने स्थिति छ । तसर्थ, हामीले जिम्मेवार ढंगबाट भूमिका खेल्ने वातावरण बनाउनुपर्छ र १५औँ महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले यस चुनौतीपूर्ण भूमिकालाई सशक्त ढंगले निर्वाह गर्ने विश्वास छ ।’
महामन्त्री पौडेलले कांग्रेसको १५औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा सहभागी गराउने पार्टीको इच्छा रहेको पनि बताए ।
उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने कांग्रेसको योजना रहेको उल्लेख गर्दै पार्टीभित्र देखिएका असन्तुष्टि र दूरी कम गरी सबैलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।
पार्टीभित्रको एकतासँगै कांग्रेसको नेतृत्वमा देशको विकास र परिवर्तन सम्भव छ भन्ने विश्वास जनतामा जगाउनु अहिलेको आवश्यकता रहेको पौडेलले बताए । कसैलाई अपमान गर्ने वा ठेस पुर्याउने आफ्नो मनसाय नरहेको स्पष्ट पार्दै उनले सबैको आदर र सम्मानका साथ पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।
उनले भने, ‘केही नेताहरू अझै बाहिर हुनुहुन्छ, हामी उहाँहरूलाई पनि आग्रह गरिरहेका छौं कि पार्टीको मूलधारमा आइदिनुहोस् । नेपालको परिवर्तन प्रक्रियाको नेतृत्व नेपाली कांग्रेसले नै गर्न सक्छ, त्यो क्षमता र ल्याकत कांग्रेससँग छ । यसलाई आम नेपाली समाजमा थप विश्वसनीय बनाउनु नै हाम्रो प्रमुख ध्येय हो ।’
महामन्त्री पौडेलले कांग्रेसभित्रका नेताहरू मात्र नभई पार्टीबाहिर रहेका शुभेच्छुक तथा अन्य व्यक्तिलाई समेत आकर्षित गर्ने वातावरण निर्माण भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया