पोखरा । दुबईबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक उडान आज हुँदैछ । बोइङ ७३७ म्याक्स जहाज दुबईबाट करिब पाँच घण्टाको उडानपछि आज साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ ।
दुबई–पोखरा–दुबई नियमित उडान सुरु हुन लागेको अवसरमा पोखरा विमानस्थलमा विशेष तयारी गरिएको छ । जहाज अवतरण गरेपछि पानीको फोहराले स्वागत गरिने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनका अनुसार यात्रुको स्वागत तथा बिदाइका लागि सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा विभिन्न पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थलमा सहभागी हुनेछन् । पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुको पनि बिदाइ गरिनेछ ।
फ्लाई दुबईको उडान सुरु भएको अवसरमा पोखरामा आयोजना गर्ने भनिएको औपचारिक कार्यक्रम भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधनका कारण रद्द गरिएको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सङ्गीता पौडेलका अनुसार दुबईबाट पोखरा आउने र पोखराबाट दुबई जाने यात्रुलाई विशेष उपहार दिइनेछ । पर्यटन बोर्डको सहयोगमा यात्रुलाई विभिन्न प्रवर्द्धनात्मक सामग्रीसमेत प्रदान गरिने उनले बताइन् ।
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्षित गरी विभिन्न छुट योजनाबारे पनि जानकारी दिइनेछ । पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले पनि यात्रुका लागि छुट योजना ल्याएका छन् ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु तथा पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशतसम्म छुट दिइनेछ । हालसम्म करिब ५० होटल यो योजनामा सहभागी भएका छन् ।
पहिलो उडानबाट आज पोखरा आउने यात्रुका लागि एक रातको होटल बसाइ र भोलिपल्ट बिहानको खाजा निःशुल्क गर्ने व्यवस्था गरिएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक निरौलाका अनुसार फ्लाई दुबईको जहाज आज साँझ ६ः१५ बजे पोखरा अवतरण गरी ७ः१५ बजे यात्रु र कार्गोसहित दुबई फर्कनेछ । नियमित तालिकाअनुसार फ्लाई दुबईको उडान हरेक दिन साँझ ६ः१५ बजे पोखरा आउने र ७ः१५ बजे दुबई फर्कनेछ ।
उनका अनुसार उडान सञ्चालनका लागि विमानस्थलमा आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ । फ्लाई दुबईको टोलीले एक साताअघिदेखि पोखरा आएर प्राविधिक अध्ययनसमेत गरेको थियो ।
पोखरा विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तरराष्ट्रिय उडान हुन लागेको हो । सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको विमानस्थलबाट यसअघि केही अन्तरराष्ट्रिय उडान भए पनि ती नियमित हुन सकेका थिएनन् ।
फ्लाई दुबईको नियमित उडानसँगै पोखरा दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलियालगायतका गन्तव्यसँग जोडिनेछ । यसबाट पोखराका यात्रुलाई विदेश जान र विदेशी पर्यटकलाई सिधै पोखरा आउन सहज हुने अपेक्षा गरिएको छ ।
फ्लाई दुबईलाई अन्तरराष्ट्रिय उडानका लागि आकर्षित गर्न सरकारले विमानस्थलका विभिन्न शुल्कमा छुटसमेत दिएको छ । विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट गरिएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिइएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएको बताए । यसबाट पोखराको पर्यटन, व्यापार र अन्तरराष्ट्रिय आवागमनमा सहजता आउने उनको भनाइ छ ।
फ्लाई दुबईले विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ । फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सञ्चालन हुनेछ । यसबाट पोखराबाट विभिन्न अन्तरराष्ट्रिय गन्तव्यमा जाने यात्रुले एउटै टिकटमार्फत यात्रा गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया