विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा ‘एक्स्ट्रिम इनर्जी ड्रिंक’

लोकपथ
21
Shares

विराटनगर । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ । यससम्बन्धी सम्झौता एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच बिहीबार विराटनगरमा भएको हो ।

सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’का रूपमा विराट एक्स्पोसँग जोडिएका छन् ।

आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पोको यो नवौँ संस्करण हो । करिब तीन दशकदेखि उद्योग संगठन मोरङले आयोजना गर्दै आएको विराट एक्स्पो पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित हुँदै आएको छ ।

आयोजकका अनुसार यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीमा मात्र सीमित नराखी ‘लर्न एन्ड वर्क, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार र मनोरञ्जन’ लगायतका अवसरसँग जोडिनेछ ।

एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीतिनिर्माताको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अनुमान गरेको छ ।

सम्झौता कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको सहकार्यले विराट एक्स्पोको प्रभाव र पहुँच थप विस्तार हुने बताए ।

उनले एक्स्पो उत्पादन तथा सेवाको प्रदर्शनीमा मात्र सीमित नभई उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी तथा नयाँ अवसरलाई जोड्ने साझा मञ्चका रूपमा विकास भएको बताए ।

विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहभागिताले एक्स्पोमा थप ऊर्जा र आकर्षण थपिने बताए । साझेदारीलाई ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नराखी एक्स्पोका विभिन्न गतिविधि र अवसरसँग जोडिने उनको भनाइ छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सकी व्यापार प्रमुख सोनिया राणाले विराट एक्स्पोको नवौँ संस्करणमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताइन् । उनले एक्स्पोका विविध गतिविधिमार्फत साझेदारीलाई प्रभावकारी र अर्थपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

उद्योग संगठन मोरङले विराट एक्स्पो २०२६ मार्फत उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?