काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।
संघले बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै मृतकप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । साथै बेपत्ता नागरिकको खोजी कार्य तीव्र बनाउन र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
संघका अध्यक्ष पशुपति देव पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर बिहीबार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । संघका पदाधिकारीको नेतृत्व गर्दै अर्थ मन्त्रालय पुगेका पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष पाण्डेले विपद्को समयमा आवश्यक सबै प्रकारका सेवा तथा सहयोग गर्न संघ तयार रहेको बताए ।
संघका अनुसार आबद्ध उद्योगहरूले पनि व्यक्तिगत तथा संस्थागत रूपमा उद्धार कोषमा आर्थिक सहयोग गरिरहेका छन् । संघले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा, तयारी पोशाकलगायत अत्यावश्यक सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ ।
संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताहरूको सहकार्यमा प्रभावित नागरिकलाई राहत सामग्री उपलब्ध गराइएको हो । यसबाट बाढी प्रभावितलाई कठिन परिस्थितिमा केही राहत पुग्ने संघको अपेक्षा छ ।
संघले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनालाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान, रोजगारीको संरक्षण तथा नयाँ रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने संघको भनाइ छ ।
सरकार तथा सामाजिक संघसंस्थासँग सहकार्य गर्दै उद्धार, राहत, पुनर्स्थापना र रोजगारी पुनःस्थापनाका आगामी चरणमा समेत आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया