इनड्राइभद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख आर्थिक सहयोग

लोकपथ
28
Shares

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले सरकारी राहत कोषमा ७ करोड ५० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

बिहीबार इनड्राइभका प्रतिनिधिहरुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पुर्‍याएको छ । यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न–९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ ।

प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो ।

विपद्पछिको कठिन परिस्थितिमा दैनिक जीवन सञ्चालनका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराउँदै प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु यस पहलको मुख्य उद्देश्य रहेको थियो ।

इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टोम्स्कीले भने, ‘नेपालमा आएको विनाशकारी बाढीले धेरै परिवार र समुदायलाई गम्भीर क्षति र कठिन परिस्थितिको सामना गर्न बाध्य बनाएको छ । आफ्ना प्रियजन, घर वा जीविकोपार्जनको आधार गुमाउनुभएका सबैप्रति हामी गहिरो संवेदना व्यक्त गर्दछौँ । नेपाल–इनड्राइभ समुदायको महत्वपूर्ण हिस्सा हो र यस्तो कठिन समयमा हामी नेपाली जनताको साथमा उभिन चाहन्छौँ । हाम्रो यो सहयोगले तत्काल सहायता आवश्यक रहेका प्रभावित परिवारसम्म आवश्यक सहयोग पुर्‍याउन तथा प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा केही योगदान पुर्‍याउने विश्वास लिएका छौँ ।’

यस सहयोगमार्फत इनड्राइभले तत्काल राहतमा मात्र नभई प्रभावित समुदायलाई सामान्य जनजीवनतर्फ फर्कन सहयोग पुग्ने पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत योगदान पुर्‍याउने विश्वास लिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?