भोटेकोशी बाढीको वास्तविक क्षति विवरण तयार गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

लोकपथ
21
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट भएको भौतिक क्षति र पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमको मूल्याङ्कन यथार्थपरक बनाउन निर्देशन दिएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोग र विश्व बैंकले तयार गरिरहेका बाढीपछिको क्षतिको प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै मन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन् ।

उनले बाढीबाट भएको क्षतिको सही विवरण तयार भएमा सरकारले आवश्यक निर्णय लिन र पुनर्निर्माणका लागि लगानी जुटाउन सहज हुने बताए । आरडिएनए र ग्रेडका तथ्यांकलाई यथार्थमा आधारित बनाएर एउटै राष्ट्रिय प्रतिवेदन तयार गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगले बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिको प्रारम्भिक मूल्याङ्कन गरिरहेको छ । विश्व बैंकले पनि बाढीबाट भएको क्षतिको प्रारम्भिक अनुमान तयार पारेको छ । दुवै प्रतिवेदनका विवरणलाई मिलाएर सरकारले साझा प्रतिवेदन तयार गर्ने तयारी गरेको छ ।

क्षतिको मूल्याङ्कनलाई चार क्षेत्रमा विभाजन गरिएको छ । सामाजिक क्षेत्रमा घर तथा सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदामा भएको क्षति समेटिएको छ ।

त्यस्तै, उत्पादनमूलक क्षेत्रमा कृषि, पशुपन्छी, मत्स्य, वित्तीय तथा अन्य आर्थिक गतिविधिमा भएको क्षतिको अध्ययन भइरहेको छ । पूर्वाधारतर्फ जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक, पुल, दूरसञ्चार, सिँचाइ तथा नदी व्यवस्थापनमा भएको क्षतिको मूल्याङ्कन गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरलाई पनि छुट्टै क्षेत्रमा राखेर अध्ययन भइरहेको छ ।

सरकारले तयार हुने प्रतिवेदनका आधारमा तत्काल राहत, पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि आवश्यक स्रोत जुटाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?