दैलेखमा सुख्खा पहिरा गएपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध

लोकपथ
0
Shares

सुर्खेत । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । सो राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका–१ दैलेखको भम्लु खोलास्थित गएराति माथिबाट सुक्खा पहिरो आएर सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गअन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिराले २० भदौदेखि बन्द सडक मंगलबार दिउँसो २ः४५ बजेदेखि सञ्चालन भएको थियो ।

यता दैलेखमा गए राति ९ः१० बजे गएको सुक्खा पहिरोले सडक पुनः अवरुद्ध भएपछि करिब चार दर्जनभन्दा बढी गाडी अलपत्र परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेख प्रहरीका अनुसार आज बिहान ६ बजेदेखि प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा खटिगएको र बाटो जतिसक्दो छिटो खोलेर आवागमन सञ्चालन गर्न सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वयमा पहिरो पन्छाउने काम सुरु भएको छ ।

सडक अवरोधका कारण हुम्ला, मुगु, जुम्ला, कालीकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौं गन्तव्य लिएर हिडेका स्याउ व्यापारी तथा यात्रुहरूलाई निकै सास्ती भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?